काठमाडौं – महाधिवेशन आयोजक कमिटी भंग गरेपछि पहिलोपटक बसेको नेकपा एमालेको केन्द्रीय कमिटीको शुक्रबारको बैठक सकिएको छ ।
वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बहिष्कार गरेको बैठकले ६ बुँदे प्रस्ताव पारित गरेको केन्द्रीय सदस्य विशाल भट्टराईले बताएका छन् । बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको थियो ।
बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली, उपाध्यक्ष बामदेव गौतम र महासचिव ईश्वर पोखरेलले बोलेका छन् । एमाले विवादपछि बसेको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष गौतमसहित हरि पराजुली, गणेश पहाडी लगायत नेताको उपस्थित रहेको थियो ।
बैठकले पुष्पलाल, मनमोहन र मदन लगायतका अग्रजहरूप्रति सम्मान, कोभिडबाट मृत्युवरण गर्ने सबैप्रति श्रद्धाञ्जलि, सम्पूर्ण संक्रमितप्रति स्वास्थलाभको कामना, बाढीपहिरोबाट ज्यान गुमाउनेप्रति श्रद्धासुमन अर्पण, घाइतेको स्वास्थ्य लाभको कामना र विस्थापितको दीगो पुनःस्थापनासँगै वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य लाभको कामना गर्दै उपचारको व्यवस्था गर्ने प्रस्ताव पारित गरेको छ ।
बैठकले पार्टीको आन्तरिक समस्या समाधानार्थ आह्वान गर्ने र चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्षको उपलक्ष्यमा चीनले प्राप्त गरेका उपलब्धिका लागि चिनियाँ जनताप्रति हार्दिक बधाई दिने प्रस्ताव समेत पारित गरेको छ ।
बैठकमा बोल्दै उपाध्यक्ष गौतमले आफू अध्यक्ष ओलीको पक्षमा आएको बताएका थिए । जिम्मेवारी दिए पार्टी एकता गर्ने विश्वास समेत गौतमले ओलीलाई दिएका छन् ।
गौतमले बैठकमा भने, ‘म तपाईंसँग आएको छु फर्केर जान्न, ननिकालेसम्म एमालेमा बसिरहन्छु, मलाई जिम्मेवारी दिएमा तपाईंको सहमतिमा म एकता गराउनेछु ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।