काठमाडौं - एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । कमिटी अवैध भएको यसअघि नै सर्वोच्च अदालतले आदेश दिइसकेको छ ।
मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टीको कमिटी ०७५ जेठ २ अघिको अवस्थामा फर्काउने निर्णय गरेसँगै आज महाधिवेशन आयोजक कमिटीको बैठक बस्न लागेको हो । बैठकमा एमालेबाट कारबाही गरिएका माधवकुमार नेपालसहित ११ जनालाई बोलाइएको छैन ।
अरुलाई निमन्त्रणा गरिएको छ । यद्यपि उनीहरू जाने नजाने टुंगो छैन । यतिबेला एमाले अध्यक्ष केपी ओली चार महिनासम्म पार्टीमा भाँडभैलो मच्चाएर किन फेरि पुरानै कमिटी ब्युँताउन तयार भए त ? भन्ने प्रश्न सर्वत्र उठेको छ ।
प्रधानमन्त्रीको कुर्सीमा बसेर जतिसुकै रडाको मच्चाए पनि आफ्नो कुनै दाल गल्ने स्थिति नभएपछि ओली ‘ब्याक टु मंगलमान’ भएको विश्लेषण गर्न थालिएको छ ।
मंगलबारको स्थायी कमिटीको बैठकले १० औं महाधिशेन आयोजक कमिटी भंग र केन्द्रीय कमिटीको बैठक बोलाउने बारेमा निर्णय गरेको छ।
एमालेको केन्द्रीय कमिटीको बैठक असार १८ गतेका लागि बोलाइएको छ। तर बुधवारको महाधिवेशन आयोजक कमिटीको बैठक भने रोकिएको छैन।
ओली एक कदमपछि हट्नुअघि उनले एमालेको असन्तुष्ट समूह माधव नेपाल र झलनाथ खनालको मागलाई बेवास्ता गरेर एकपछि अर्को निर्णय गर्नमा तल्लीन थिए।
ओलीले अदालतको फागुन २३ को फैसलापछि नेपाल(खनाल समूहलाई पदमुक्त गर्नेदेखि पार्टीबाट निकाल्ने सम्मका बोल्ड डिसिजनमा पुगे। यद्यपि पछिल्लो समय ओली रक्षात्मक देखिएका छन्। अझै पनि उनले अरु गोटी चाल्ने खतरा छ ।
त्यो भनेको माधव पक्षले भनेको माग पूरा गरेर माधव नेपाललाई एक्ल्याउने र उनी पक्षका नेतालाई एमालेमै राख्ने । हाल एमालेको दोस्रो तहमा भइरहेको वार्ताको पहल नेपालबाहेकका नेतालाई एमालेमा फर्काउनका लागि भइरहेको छ।
त्यसका लागि नेपालसँग रहेको दोस्रो तहका नेतालाई आफ्नो समूहमा तान्नका लागि वार्ता भइरहेको ओली निकट नेताहरुले बताएका छन्। ओलीले सोमबार बालुवाटारमा आयोजित मदन भण्डारी फाउण्डेशनको कार्यक्रममा नेपालप्रति आक्रोश व्यक्त गरेका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।