काठमाडौं - जम्मा १९ दिन स्वास्थ्यमन्त्री बनेर पदमुक्त भएका शेरबहादुर तामाङले 'ब्याक डेट' राखेर एमाले कार्यकर्तालाई नियुक्ति दिएको खुलासा भएको छ ।
तामाङले एमाले भ्रातृसंस्था युवा संघका उपाध्यक्ष नृपेन्द्र महतलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा नियुक्त गरेका हुन् । स्वास्थ्यमन्त्री प्रतिष्ठानका सहकुलपतिसमेत हुन्छन् ।
स्रोतका अनुसार तामाङले मन्त्रीबाट हटेपछि पुरानो मिति राखेर महतलाई रजिष्ट्रारमा नियुक्त गरेका हुन्। प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले महतसहित तीनजनाको नाम निवर्तमान मन्त्री तामाङलाई सिफारिस गरेका थिए।
असार १ गते मेलम्चीमा बाढी आएपछि मन्त्री तामाङ उक्त क्षेत्रमा व्यस्त थिए। उनी मेलम्चीमै रहेको समयमा असार ८ गते सर्वोच्च अदालतको आदेशमा तामाङसहित २० जना जिम्मेवारीमुक्त भएका थिए।
जिम्मेवारीमुक्त भएपछि पनि तामाङले युवा संघका उपाध्यक्ष महतलाई असार ३ गतेको मितिमा रजिष्ट्रारमा नियुक्त गरेको पत्र तयार पारेको मन्त्रालयका कर्मचारीले आरोप लगाएका छन्।
नवनियुक्त रजिष्ट्रार महतले ९ गते बुधबार रजिष्ट्रारको नियुक्ति पत्र बुझेका छन्।
रजिष्ट्रार पदको कार्यकाल चार वर्षको रहनेछ। गत जेठ १६ मा रजिष्ट्रार विश्वराज काफ्लेको पदावधि सकिएपछि उक्त पद खाली थियो। प्रतिष्ठान ऐन अनुसार उपकुलपतिको सिफारिसमा सहकुलपतिले रजिष्ट्रार नियुक्ति गर्ने व्यवस्था छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।