काठमाडौं – कम्युनिस्ट नेता तथा पूर्वमन्त्री प्रभु साहले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्र र अध्यक्ष दुवै नियम र संगतले नमिलेकाले अवैध रहेका बताएका छन् ।
रौतहट जिल्लाको मौलापुर नगरपालिकाको बजेट अधिवेशन उद्घाटन गर्दै नेता साहले हेटौंडा अधिवेशनपछि कुनै अधिवेशन नभएको र हेटौंडामा अधिवेशन भएको पार्टीको नाम नेकपा माओवादी केन्द्र नै नभएको स्पष्ट पार्दै निर्वाचन आयोगमा दर्ता नै नभएको पार्टीसित एकीकरण गरिएको तथा एकीकरण भएपछि कुनै अधिवेशन नै नरहेको हुँदा पार्टीको नाम र अध्यक्ष दुबै अवैध रहेको जिकिर गरे ।
देशमा रहेका सबै राजनीतिक दलको हकमा एकै किसिमको नियम लागू हुनुपर्नेमा कुन नियमले निर्वाचन आयोगले प्रचण्डलाई अध्यक्ष मानिरहेको भन्दै साहले प्रश्न गरे ।
२०६९ सालपछि पार्टीको कुनै अधिवेशन नै नभएको बताउँदै नेता साहले ९ वर्ष बित्दा पनि अध्यक्ष मानिरहेको निर्वाचन आयोगले विधिसम्मत कानूनी प्रक्रिया अगाडि बढाउनुपर्ने माग गरे । विधिसम्मत अधिवेशन पनि नगर्ने तथा अनिश्चितकालसम्म अध्यक्ष बनिरहन खोज्ने प्रचण्डको महत्त्वाकांक्षामा निर्वाचन आयोगले पार्टी र अध्यक्षको मान्यता दिइरहँदा दलभित्रको लोकतन्त्रलाई पनि अवैधानिक बनाएको आरोप उनले लगाए ।
नेता साह सहभागी मौलापुर नगरपालिकाको बजेट अधिवेशन चलिरहँदा प्रतिपक्षीले विरोध प्रदर्शन गरेका छन् । गत असार ७ गते नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै विभिन्न मागहरू राखेर असार ८ गते नगरपालिकाविरुद्ध प्रदर्शन गरेका नेपाली कांग्रेस, नेकपा एमाले माधव नेपाल पक्ष, माओवादी केन्द्र लगायतका दलका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् ।
विरोध प्रदर्शनमा उत्रिएको समूहको प्रतिकारमा प्रभु साहका समर्थक र प्रदर्शनमा उत्रेकाबीच दोहोरो भिडन्त नै भएको थियो । दोहोरो ढुंगा हानाहानलाई प्रहरीले रोक्न खोज्दा प्रहरी नै दुबैतिरबाट निशानामा परेको थियो ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं राउण्ड अश्रुग्यास तथा हवाइ फायर गरेको जनाइएको छ । प्रहरीले २३ राउन्ड अश्रुग्यास तथा १४ राउण्ड हवाइ फायर गरेको छ । दुबैतिरबाट भएको ढुंगा प्रहारबाट ९ प्रहरी र ३ सशस्त्र प्रहरी घाइते भएका प्रहरीले जनाएको छ ।
भिडन्तमा घाइते प्रहरीको स्थानीय अस्पतालमा उपचार गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिद्धिविक्रम शाहले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।