काठमाडौं - प्रधानमन्त्री केपी ओलीको प्रतिगमनविरुद्ध आजदेखि सडक संघर्ष सुरु भएको छ । पाँच दल आवद्ध विपक्षी गठबन्धनले बिहीबार दिउँसो नेपाली संचारमाध्यमका सम्पादकहरुसँग छलफल गर्दैछ ।
आजै पाँच विद्यार्थी संगठनले सरकारविरुद्ध आन्दोलन श्रीगणेश गर्दैछ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा सुनुवाइ भइरहेका बेला ओलीलाई धक्का दिन एकैपटक सडक संघर्ष सुरु भएको हो ।
नयाँ वानेश्वरमा दिउँसो २ बजेका लागि आब्हान गरिएको छलफलमा नेपालका प्रतिष्ठित संचारमाध्यमका सम्पादकहरुलाई आमन्त्रण गरिएको छ ।
छलफलमा नेपाली काँग्रेस, माओवादी केन्द्र, उपेन्द्र यादव समूहको जनता समाजवादी पार्टी, माधव नेपाल समूहको नेकपा एमाले र राष्ट्रिय जनमोर्चा नेपालसमेत गरी पाँच दलका शीर्ष नेताहरु सहभागी हुने जनाइएको छ ।
सरकारको अकर्मण्यता र गैरजिम्मेवारीपनका कारण राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको निष्कर्ष निकालेका गठबन्धनले मंगलबार एक संयुक्त वक्तब्यमार्फत संविधानको सर्वोच्चताको उल्लङ्घन गरी सरकार स्वेच्छाचारी रुपमा अघि बढेकाले त्यसविरुद्ध उत्रिनुपर्ने बताउँदै आएको छ ।
दुई–दुई पटक प्रतिनिधि सभा विघटन, अध्यादेशद्वारा शासन सञ्चालन, संवैधानिक अंग लगायत राज्यका निकायहरुको दुरुपयोग, राजनीतिक दलहरुमा विभाजन, भ्रष्टाचार, परराष्ट्र सम्बन्ध र कूटनीतिमा विचलन र असन्तुलन तथा कोरोना संक्रमणको महामारीबाट जनतालाई सुरक्षा र राहत प्रदान गर्न असक्षमता एवम् बाढी, पहिरो र डुवान जस्ता प्राकृतिक विपद् व्यवस्थापनमा पूर्वतयारीको अभाव जस्ता कार्यसमेतले सरकारको अकर्मण्यता र गैरजिम्मेवारीपन देखिएको गठबन्धनले निष्कर्ष निकालिसकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।