काठमाडौं – नेकपा एमालेभित्र विवाद चर्किएर फुटको अवस्थामा पुगेका बेला अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र असन्तुष्ट माधवकुमार नेपाल पक्षका नेताबीच सहमति जुटेको छ ।
सहमतिका लागि माधव नेपाल पक्षबाट सक्रिय रहेका घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट लगायत नेताहरूले ओली पक्षसँग सहमति गरेका हुन् ।
विवाद देखिएको नेकपा एमालेलाई २०७५ जेठ २ गतेकै अवस्थामा फर्काएर पार्टीलाई फुट्नबाट जोगाउने सहमति भएको स्रोतले जनाएको छ ।
असन्तुष्ट नेपाल पक्षले सर्वोच्च अदालतको फैसला अनुसार पार्टीलाई जेठ २ गतेकै स्थितिमा फर्काउनुपर्ने, पुरानै संरचना अनुसार जनसंगठन र पेशागत संगठनका सबै संरचनालाई केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील तुल्याउनुपर्ने माग राख्दै आएको छ ।
पुरानै संरचनालाई क्रियाशील बनाएर त्यसपछि बस्ने संयुक्त बैठकले वर्तमान परिस्थितिअनुसार पार्टी केन्द्र र अन्य संरचनालाई अद्यावधिक गर्ने सहमति जुटेको छलफलमा सहभागी एक नेताले जानकारी दिए । सहमति जुटेपछि अब एमालेका नाममा ओली पक्षले २०७७ फागुन २८ गतेपछि गरेका निर्णयहरू खारेज हुने भएका छन् ।
द्विपक्षीय छलफलमा नेपालपक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट लगायत नेता सहभागी छन् भने ओली पक्षका सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली लगायत सहभागी छन् ।
प्रधानमन्त्री ओली पक्षले नेपाल पक्षले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त राखेपनि त्यसबारे निकास निकाल्नेबारे छलफल भइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।