काठमाडौं – सर्वाेच्च अदालतको अन्तरिम आदेशपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री नबनाएका पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहितका नेताहरू नेकपा माओवादी केन्द्रमै रहेको खुलासा भएको छ ।
नेकपा एमालेमा प्रवेश गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीबाट निष्कासन गरेपनि त्यो सक्कली र वैधानिक हुन सकेको छैन । प्रचण्डले नक्कली कारवाही गरेका कारण बादलसहित नेताहरूमाथि आधिकारिक कारवाही हुन नसकेको निर्वाचन आयोगले जनाएको छ ।
प्रमुख आयुक्त दिनेश थपलियाले नेताहरूलाई पदमुक्त गर्न आवश्यक कागजात नपुगेको जानकारी दिए । केन्द्रीय कमिटीले कारबाही गरेको भनिए पनि प्रतिलिपि नआएका कारण माओवादीबाट निष्कासन गरिएको सूचना प्रकाशित नभएको उनले बताए ।
निर्वाचन आयोगले कारवाहीको सूचना प्रकाशित नगरेर बादलसहित १८ जनालाई माओवादीमै राखिराखेकाले पार्टीले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । पूर्वमन्त्री रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभू साह, मणि थापा लगायत १८ जना जनप्रतिनिधि निर्वाचन आयोगको रेकर्डमा माओवादीमै रहेका छन् ।
निर्वाचन आयोगले पार्टीबाट निष्कासन गरेको सूचना जारी नगरेपछि आयोग पुगेर ध्यानाकर्षण गराइएको नेता लिलामणि पोखरेलले जानकारी दिए ।
पोखरेलले भने, ‘बाटो बिराएका जनप्रतिनिधिहरूलाई कारबाही गरिएको पत्र आयोगमा दर्ता गरेका थियौं तर अहिलेसम्म आयोगले सूचना जारी गरेन ।’
निर्वाचन आयोगले पार्टीबाट निष्कासन गरेको सूचना प्रकाशित नगरेसम्म जनप्रतिनिधि पदमुक्त भएको नमानिने व्यवस्था रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।