काठमाडौं - हिजोआज प्रधानमन्त्री केपी ओलीले समृद्ध नेपाल सुखी नेपालीको नारा लगाउन छाडेका छन् । प्रधानमन्त्री भएको केही समयसम्म जहाँसुकै जतिबेला पनि समृद्ध नेपाल सुखी नेपालीको भाषण गर्न छाड्दैनथे ।
ओलीको मुखबाट यो नारा गायब भएको एक वर्ष पुग्यो । अघिल्लो वर्षको वैशाखमा जब तत्कालीन नेकपामा विवाद देखियो, त्यहीँदेखि ओलीको कुर्सी धर्मराएको धर्मरायै छ । अहिले त उनी पदमुक्त हैसियतका प्रधानमन्त्री हुन् । कानुनी टेको समातेर बसेका छन् ।
सर्वोच्च अदालतले एउटा फैसला गर्नेवित्तिकै ओलीको सत्ता गल्र्यामगुर्लुम ढल्ने छ । प्रतिनिधिसभामा विश्वासको मत लिन नसकेकाले ओली कामचलाउ हैसियतमा झरेका हुन् । विगतमा विश्वासको मत लिन नसक्ने प्रधानमन्त्री एक मिनेट पनि कुर्सीमा बस्दैनथे ।
तर ओलीले जालसाजी गर्दै, लाजसरम पचाएर कुर्सी छाडेका छैनन् । साढे तीन वर्षअघि निर्वाचनमा कम्युनिस्ट पार्टीको रवाफ नै अर्को थियो । उनीहरू कम्युनिस्टबाहेक अरुलाई मान्छे नै गन्दैनथे । तर, परिस्थितिले कम्युनिस्टको हालत अहिले कहाँबाट कहाँ पुग्यो ।
ओलीले यस अवधिमा नेकपा खारेज गरे । प्रतिनिधिसभा दुई दुईपटक विघटन गरे । एमाले पार्टीलाई चिरा चिरा बनाए । भलै औपचारिक रूपमा विभाजन भने भइसकेको छैन । तर, सबै नेता कार्यकर्तासँगै बस्न नसक्ने अवस्थामा पुर्याएका छन् ।
आफूले जे जे सोचेको थियो त्यो त्यो सबै एक एक ढल्दै गएपछि ओलीले विकास र समृद्धिको गफ र रटान लगाउन छाडेका हुन् ।
चिनियाँ चुच्चे रेल, नेपालको आफ्नै पानीजहाज, पूर्वपश्चिममा रेल, घरघरमा ग्यासको पाइप, प्रतिव्यक्ति नेपालीको आम्दानी १० हजार डलर यी सबै अब ओलीका गफ मात्र हुने भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।