आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

मन्त्रिपरिषद्मा जनजाति र मधेशीको कब्जा, बाहुन–क्षेत्री ६ जना मात्रै

मन्त्रिपरिषद्मा जनजाति र मधेशीको कब्जा, बाहुन–क्षेत्री ६ जना मात्रै

  • मिडिया डबली
  • शुक्रवार, जेठ २८ २०७८

  • 6.9K
    SHARES

  • मन्त्रिपरिषद्मा जनजाति र मधेशीको कब्जा, बाहुन–क्षेत्री ६ जना मात्रै

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन घोषणापछि दोस्रो पटक हेरफेर गर्दै बिहीबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।

    थप ७ मन्त्री र १ राज्यमन्त्रीलाई शपथ खुवाउँदै बिहीबार मन्त्रिपरिषद् २५ सदस्यीय बनेको छ ।

    प्रधानमन्त्री ओलीले जेठ २१ गते जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षका १० जनालाई समेटेर मन्त्रिपरिषद् गठन गरेका थिए । 

    राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख ३१ गते बिहीवार गठित मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिए ।

    नवनियुक्त मन्त्रीहरुले बिहीवारै राष्ट्रपति भण्डारीसमक्ष संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ खाएका छन् ।

    शपथ खानेमा खगराज अधिकारी गृहमन्त्री, नैनकला थापा सञ्चार तथा सूचना प्रविधिमन्त्री, ज्वालाकुमारी साह कृषि तथा पशुपन्छी विकासमन्त्री, नारदमुनि राना वन तथा वातावरणमन्त्री, मोहन बानियाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मन्त्री, राजकिशोर यादव उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र गणेशकुमार पहाडी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रहेका छन् । नवनियुक्त वन तथा वातावरण राज्यमन्त्री आशाकुमारी विकले प्रधानमन्त्री ओलीसमक्ष शपथ लिएकी छन् ।  

    नेपालको संविधानमै २५ जनाभन्दा बढी मन्त्री बनाउन नपाउने व्यवस्था रहेको छ । ओलीले बिहीवार एमालेबाट ७ र जसपाबाट १ मन्त्री थप गरेका हुन् । उद्योगमन्त्री यादव जसपाका हुन् । सञ्चारमन्त्री थापा र कृषिमन्त्री साह माओवादी केन्द्रबाट एमालेमा आएका नेता रहेका छन् ।

    गृह मन्त्रालयको जिम्मेवारी पाएका अधिकारी दोस्रो पटक मन्त्री नियुक्त भएका हुन् । अधिकारी २०७० सालमा सुशील कोइराला नेतृत्वको मन्त्रिमण्डलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेका थिए । मन्त्री रानाले कैलाली क्षेत्र नम्बर ५ मा कांग्रेस नेत्री आरजु राणा देउवालाई पराजित गरेका थिए । मन्त्री पहाडी एमाले नेता योगेश भट्टराईनिकट रहेका छन् ।

    कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष पेश गरेको दाबीका १४९ हस्ताक्षरकर्तामध्ये उनी एक हुन् तर उनी सर्वोच्च अदालतमा रिट निवेदन दिन गएका थिएनन् ।

    कृषिमन्त्री साह गत चैतमा एमाले प्रवेश गरेकी थिइन् । माओवादी परित्यागपछि उनको प्रदेश सांसद पद गएको थियो । साह २०६६ सालमा भूमिसुधार राज्यमन्त्री बनेकी थिइन् ।

    ठाकुर पक्षका नेता यादव मन्त्रिपरिषदमा थपिँदा जसपाबाट मन्त्री हुनेको संख्या ११ पुगेको छ । २५ सदस्यीय मन्त्रिपरिषदमा जसपाको भागमा मात्रै ४४ प्रतिशत परेको छ । 

    २ नम्बर प्रदेशबाट मात्रै १४ जना मन्त्री भएका छन् । जसमा जसपाबाट ११, एमालेबाट ३ जना छन् । एमालेबाट उपप्रधान तथा परराष्ट्रमन्त्री रघुवीर महासेठ, कानून न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठ र नवनियुक्त कृषिमन्त्री साहले प्रदेश २ बाट प्रतिनिधि गर्छन् । यो मन्त्रिपषिदमा प्रदेश १ बाट प्रधानमन्त्री ओली र भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङ छन् ।

    बागमती प्रदेशबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङ र नवनियुक्त संघीय मामिलामन्त्री पहाडी रहेका छन् । सञ्चारमन्त्री थापा पनि बागमती प्रदेशकै हुन् ।

    गण्डकी प्रदेशबाट गृहमन्त्री अधिकारी, लुम्बिनीबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, कर्णालीबाट नवनियुक्त मन्त्री बानियाँ र सुदूरपश्चिमबाट नवनियुक्त वनमन्त्री राना र वन राज्यमन्त्री विकको प्रतिनिधित्व रहेको छ । 

    मन्त्रिपरिषद् समावेशी देखिएको छ । जसमा बाहुन–क्षेत्री ६, जनजाति ८, मधेशी १० र दलित १ जना छन् । मन्त्रिपरिषदमा ५ जना महिलाको प्रतिनिधित्व रहेको छन् । 

    २०७४ फागुन ३ गते ओली प्रधानमन्त्रीमा नियुक्ति भएका हुन् । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि ओलीले बैशाख २७ गते विश्वासको मत गुमाएका थिए । त्यसपछि २०७८ बैशाख ३१ गते संविधान धारा ७६(३) बमोजिम अल्पमतको सरकारमा पुनः ओली  प्रधानमन्त्री नियुक्त भए । यो अवधिमा ओलीले १७ पटक मन्त्रिपरिषद्को पुनर्गठन गरिसकेका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।

    कुन प्रदेशबाट कति मन्त्री ?

    प्रदेश १ – २ 
    प्रदेश २ – १४
    बागमती प्रदेश – ४ 
    गण्डकी प्रदेश – १ 

    लुम्बिनी प्रदेश – १
    कर्णाली प्रदेश – १ 
    सुदूरपश्चिम – २  

    कहिले–कहिले पुनर्गठन ?

    १. २०७४ फागुन ३ – ओलीको नेतृत्वको ४ मन्त्रीसहित सरकार गठन 
    २. २०७४ फागुन १४ – ४ मन्त्री थप  
    ३. २०७४ चैत २ – मन्त्रिपरिषद्लाई पूर्णता 
    ४. २०७५ जेठ १८ – तत्कालीन समाजवादी पार्टी सरकारमा 
    ५. २०७५ साउन १८ – शेरबहादुर तामाङले राजीनामा दिएपछि भानुभक्त ढकालको नियुक्ति 
    ६. २०७६ साउन १५ – योगेश भट्टराईलाई मन्त्री नियुक्त 

    ७. २०७६ मंसिर ४ – हृदयेश त्रिपाठी सरकारमा
    ८. २०७६ फागुन ५ – उपसभामुखबाट हटेपछि डा. शिवमाया तुम्बाहाङफे मन्त्री नियुक्त 
    ९. २०७६ फागुन ८ – पार्वत गुरुङ मन्त्री नियुक्त 
    १०. २०७६ फागुन २१ – डा. युवराज खतिवडा पुनः मन्त्री नियुक्त 
    ११. २०७७ असोज २८ – कृष्णगोपाल श्रेष्ठ र लीलानाथ श्रेष्ठ मन्त्री नियुक्त

    १२. २०७७ पुस १० – प्रतिनिधिसभा विघटनपछि केही मन्त्रीले राजीनामा दिएपछि मन्त्रिपरिषद् पुनर्गठन 
    १३. २०७७ चैत २७ – लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभू शाह र गौरीशंकर चौधरीको सांसद पद गएपछि पुनः मन्त्री नियुक्ति 

    १४. २०७८ बैशाख ५ – रामबहादुर थापाको सांसद पद गएपछि पुनः मन्त्री नियुक्त 
    १५. २०७८ बैशाख ३१ – ओली दोस्रो पटक प्रधानमन्त्री नियुक्त 
    १६. २०७८ जेठ २१ – जसपा समेटेर मन्त्रिपरिषद्को गठन 
    १७. २०७८ जेठ २७ – मन्त्रिपरिषद्को पूर्णता

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend