काठमाडौं - हुन त केपी ओली सरकार आफैं अस्थिर छ । झन्डै दुई तिहाइ बहुमतको ओली सरकार अहिले अल्पमतमा मात्र होइन, कानुनी रूपमै पनि अवैधानिक भएको संविधानविद्हरूले बताएका छन् ।
दुई दुईचोटि प्रतिनिधिसभा विघटन गरेको, आफैंले प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओलीले स्वास्थ्यमन्त्री मात्रै चारवटा फेरिसकेका छन् । तीन वर्षअघि प्रधानमन्त्री भएलगत्तै उनले तत्कालीन संघीय समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादवलाई स्वास्थ्यमन्त्री बनाएका थिए ।
यादव ओली सरकारमा झन्डै दुई वर्ष स्वास्थ्यमन्त्री बने । तर, ओली र यादवबीच सम्बन्धमा दरार उत्पन्न हुन थाल्यो । आफूले राखेका माग पूरा नगरेको भन्दै यादव ओलीसँग असन्तुष्ट बने ।
त्यसको केही समयपछि ओलीले यादवको स्वास्थ्यमन्त्री खोसेर कानुनमन्त्री बनाइदिए । ओलीले स्वास्थ्यमन्त्रीमा एमालेका भानुभक्त ढकाललाई नियुक्त गरे । तर, ढकाल स्वास्थ्यमन्त्री भएपछि सबैभन्दा धेरै विवादमा तानिए ।
स्वास्थ्य सामग्री खरिदमा ढकाल मुछिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संसद्को सार्वजनिक लेखा समितिमा उजुरी नै पर्यो । आफ्ना विश्वास पात्र ढकाल स्वास्थ्यमा धेरै गन्हाएपछि ओलीले हृदयेश त्रिपाठीलाई स्वास्थ्यमन्त्रीमा नियुक्ति गरे ।
ढकाललाई पर्यटनमन्त्री बनाइयो । अहिले ढकालको पर्यटनमन्त्रीसमेत खोसिएको छ । त्रिवाठीले ओली सरकारमा झन्डै ६ महिना स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हाले ।
त्यसअघि उनी सामान्य प्रशासनमन्त्री थिए । स्वास्थ्य मन्त्रालय सम्हालेको उत्तराद्र्धतिर प्रधानमन्त्री ओली र त्रिपाठीबीच स्वार्थ बाझियो । कोरोनाविरुद्धको खोप खरिदमा ओली निकट व्यापारीले कमिसन मागेको खुलासा त्रिपाठीले गरिदिए ।
जसकारण ओलीको चौतर्फी विवाद भयो । त्यसैले उनी त्रिपाठीसँग असन्तुष्ट थिए । एक साताअघि ओलीले त्रिपाठीलाई स्वास्थ्यमन्त्रीबाट पदमुक्त गरिदिएका छन् ।
ओलीले चौथो स्वास्थ्यमन्त्रीका रूपमा शेरबहादुर तामाङलाई नियुक्त गरेका छन् । उनी यसअघि नै विवादास्पद अभिव्यक्तिका कारण कानुनमन्त्रीबाट राजीनामा दिएर बाहिरिएका थिए ।
उनीहरूको नियुक्तिको विषयमा सर्वोच्च अदालतले सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ । आगामी असार ९ गतेभित्र सरकारलाई लिखित कारण पेस गर्न माग गरिएको छ । त्यसैले तामाङ पनि कहिलेसम्म स्वास्थ्यमन्त्री बन्ने हुन् ठेगान छैन । केही समयका लागि पद्मा अर्यालले राज्यमन्त्रीका रूपमा स्वास्थ्य मन्त्रालय चलाएकी थिइन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।