काठमाडौं – नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक विवाद मिलाउन जारी गरेको वक्तव्यलाई माधवकुमार नेपाल पक्षले अस्पष्ट र जालझेलपूर्ण भन्दै अस्वीकार गरेपछि दुबै पक्षका दोस्रो तहका नेताहरु फेरि विवाद मिलाउने भन्दै भेटघाट गरिरहेका छन् ।
तर भेटघाटको कुनै अर्थ नरहेको र अनाहकमा अन्योल मात्र सिर्जना गर्ने महसूस वरिष्ठ नेताहरुले गरेका छन् ।
अध्यक्ष ओलीले जेठ २३ गते जारी गरेको ६ बुँदे वक्तव्यमा एकताका लागि २०७५ जेठ ३ गतेअघिको अवस्थाबाट पार्टीलाई अघि बढाउन आफू तयार भएको तर त्यसका लागि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको रिटबाट नेपाल पक्षका सांसदले हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त राखेका थिए ।
ओलीबाट यस्तो प्रस्ताव सर्वोच्च अदालतमा अहिले विचाराधीन प्रतिनिधिसभा पुनःस्थापना सम्बन्धी मुद्दालाई प्रभावित गर्न आएको थाहा हुँदाहुँदै पनि नेपाल पक्षीय केही युवा नेताहरु पार्टी मिलाउने नाममा आफ्नै राजनीतिक भविष्य जोगाउनतिर केन्द्रित छन् ।
त्यसैका लागि उनीहरु फेरि पनि आपसी छलफलमा छन्, जुन छलफलले कुनै परिणाम ननिकाल्ने निष्कर्षमा नेपाल पक्षका वरिष्ठ नेताहरु रहेका छन् ।
नेपाल पक्षले लोकतन्त्रको रक्षाका लागि गरिएको हस्ताक्षर फिर्ता नहुने जनाएको छ । नेपाल पक्षले विना शर्त २०७५ जेठ ३ गतेअघिको अवस्थाबाट पार्टीलाई अघि बढाउन ओली तयार हुनुपर्ने पनि जनाएको छ । २०७५ जेठ २ गतेकै कमिटीबाट पार्टी सञ्चालन गर्नुपर्ने र नवौं महाधिवेशनले निर्वाचित गरेको कमिटी हटाएर अर्को कमिटी बनाउने कुरा स्वीकार्य नहुने नेपाल पक्षको अडान रहेको छ ।
पार्टी एकताको आधार खोज्न भन्दै मंगलवार राति ओली पक्षका सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र नेपाल पक्षका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट, भीम आचार्य ललितपुरस्थित समीट होटलमा बैठक गर्न पुगेका थिए ।
छलफलमा नेपाल पक्षका नेताले ओलीको वक्तव्य अमूर्त रहेको र २०७५ जेठ २ गते पार्टीका कमिटीहरुलाई फर्काउनुपर्ने आफ्नो न्यूनतम शर्त भएकाले त्यहीँबाट अघि बढ्नुपर्ने बताएका थिए ।
अध्यक्ष ओलीको वक्तव्यपछि र वरिष्ठ नेता नेपालको जवाफी वक्तव्यले एमाले एकता संकटमा रहेको विश्लेषण गरिएको थियो । तर विवाद समाधानका उपाय खोज्न फेरि दुबै पक्षका दोस्रो तहका नेताहरु संवादमा बस्नुले एकताको सम्भावना नभए पनि नेपाल पक्षले नेपाली कांग्रेस, माओवादी केन्द्र, राजपाको उपेन्द्र यादव पक्ष लगायतसँग गरिरहेको राजनीतिक सहकार्यमा भ्रम उत्पादन गर्न सक्ने छ । उनीहरुबीच मंगलवार राति भएको छलफल यसअघि जस्तै कुनै निचोडमा पुगेन ।
एकताका लागि दुबै पक्षका दोस्रो तहका नेताहरुबीच भइरहेको छलफलमा आचार्य पहिलो पटक सहभागी भएका छन् ।
आचार्यले एकता कायमै राख्नुपर्ने तर लम्पसार भएर सम्भव नहुने धारणा राख्दै आएका छन् । ओली, खनाल, नेपाल, गौतम र बोहरा जस्ता प्रथम पुस्ताका नेताहरुले पार्टीको सम्मानित अभिभावकत्व ग्रहण गरी नेतृत्व दोस्रो पुस्तालाई हस्तान्तरण गर्ने प्रक्रिया सुरू गरे सबै कुरा मिल्ने नेपाल समूहका नेता भीम आचार्यको बुझाइ रहेको छ ।
‘प्रथम पुस्ताका नेताहरुले पार्टीको सम्मानित अविभावकत्व ग्रहण गरी नेतृत्व दोस्रो पुस्तालाई हस्तान्तरण गर्नुपर्छ, अब पार्टीलाई यही दिशातर्फ लैजाने हो भने एकता सम्भव छ,’ आचार्यले भने । आचार्यको यस्तो आदर्श चाहना भए पनि पहिलो पुस्ताका नेताहरुले अहिले तत्कालै दोस्रो पुस्तालाई सत्ता हस्तान्तरण गर्ने स्थिति छैन ।
ओली पक्षका नेताले आफूहरु एकताका लागि २०७५ जेठ ३ गतेअघिको अवस्थामा फर्किन तयार भए पनि नेता नेपालले वक्तव्य जारी गरेर झन् समस्या थपिएको गुनासो गरेका थिए । नेपाल पक्षका नेताहरुले भने अध्यक्ष ओलीको वक्तव्य गोलमोटल भएको, कारबाही फुकुवा जस्ता विषयहरु नआएको, जेठ २ गतेको न्युनतम शर्त नमानेको, नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र स्थायी कमिटीलाई ओलीको एकल निर्णयले हटाएको जस्ता विषयमा मौन रहेकाले थप स्पष्ट हुनुपर्ने धारणा राखेका थिए ।
छलफलमा ओली पक्षका नेताहरुले अब मिलेर पार्टी चलाऔं भन्ने प्रस्ताव राखेका थिए ।
उनीहरुले शीर्ष नेताहरुलाई सम्मानजनक स्थान दिएर राख्ने र दोस्रो पुस्ताका नेताहरूले पार्टी चलाउनुपर्ने धारणा पनि राखेको स्रोतको दावी छ । जब कि अहिले पनि पहिलो पुस्ताका नेपाल पक्षीय नेताहरु पार्टी पुनर्गठन गरेर जान तयार भएको स्थितिमा दोस्रो पुस्तालाई तालासाँचो बुझाएर हिँड्ने स्थिति आउने छैन । ओली पक्षका नेताहरुले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटबाट पार्टीका सांसदहरुको हस्ताक्षर फिर्ता लिनुपर्ने बताएका थिए ।
नेपाल पक्षका नेताहरुले त्यो विषय धेरै जटिल नभएको तर अध्यक्ष ओलीलाई नवौं महाधिवेशनको आदेशबाट २०७५ जेठ २ गतेको स्थायी कमिटी बोलाउन, जेठ २ गतेअघिको पार्टी कमिटी ब्युँताउन केले रोकेको हो भन्ने प्रश्न राखेका थिए । उनीहरुले ओलीले पार्टीका नेताहरुलाई धकेल्दै–धकेल्दै विभाजनको डिलमा पुर्याउन खोजेको आभास भइरहेको बताएका थिए ।
नेपाल पक्षका नेता योगेश भट्टराईले छलफलबाट निकै उत्साहित रहेको प्रतिक्रिया दिने गरेका छन् तर त्यसको कुनै विश्वसनीय आधार नभएको धारणा नेपाल पक्षको जूम बैठकमा समेत आउने गरेको छ ।
पार्टीभित्र उत्पन्न विवादका कारण नेपाल पक्ष विपक्षी गठबन्धनसँग मिल्न गएपछि ओली संकटमा परेका छन् । चौतर्फी घेराबन्दीमा परेका ओलीलाई अहिले नेकपा जोगाउन नसकेको र एमाले पनि एकताबद्ध गराउन नसकेको आरोप लागिरहेको छ । नेपाल पक्ष विना एमालेका लागि आगामी निर्वाचन निकै सकसपूर्ण हुने भएकाले पनि ओली पक्षका नेताहरु अहिले पार्टी मिलाउनुपर्छ भन्नेमा लागेका छन् तर तिनले ओलीलाई यसबारे प्रस्ट बताउन नसक्ने भएकाले खासै परिणाम आउने स्थिति छैन ।
ओलीले माधवकुमार नेपाल र भीम रावललाई किनारा लगाएर पार्टीमा एकछत्र राज गर्ने र नेपाल पक्षका अन्य नेताहरुलाई विभिन्न प्रलोभनमा पारेर आफूतिर तान्न खोजेकाले पनि समस्या बढेको एक नेताको दाबी छ तर नेपाल पक्षका नेताहरुले उनलाई बाहिर राखेर आफूहरु मात्रै ओलीसँग जान नसक्ने बताएका छन् । उनीहरुले यसका लागि नेता नेपालसँग ओलीले कुरा गर्नुपर्ने र पार्टीलाई जेठ २ गतेको अवस्थामा फर्काउनुपर्ने आग्रह गरिरहेका छन् । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।