काठमाडौं – तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता बदर भएपछि नेकपा एमाले स्थायी कमिटीका सदस्य बनेका नेता टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्र औपचारिक रूपमा विघटनको घोषणा गर्न मात्र बाँकी रहेको बताएका छन् ।
रायमाझी एमाले छाडेर फेरि माओवादीमै फर्किन लागेको हल्लाबीच सोमवार प्रेस विज्ञप्ति जारी गर्दै उनले आफू माओवादीमा नफर्किने स्पष्ट पारे ।
केही सञ्चारमाध्यममा आफ्नो नाम जोडेर नेकपा माओवादी केन्द्रमा फर्किन लागेको भनेर आएका आधारहीन, भ्रमपूर्ण एवं कपोकल्पित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उनले बताएका छन् ।
नेता रायमाझीले आफू केपी शर्मा ओलीको नेतृत्वमा रहेको पार्टीसँगै रहेकाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्रको आयू बढाउन गरिएका यी र यस्ता भ्रम एवं षड्यन्त्रपूर्ण झांसामा नआउन अपिल समेत गरेका छन् ।
रायमाझीले प्रचण्डमा रहेको कुर्सी मोह, पदलोलुपता, परिवारवाद एवं भ्रष्ट आचरणका कारण उनी राजनीतिक एवं वैचारिक रूपमा नै विचलित भएको टिप्पणी गरे । रायमाझीले भने, ‘क. प्रचण्डमा रहेको कुर्सी मोह, पदलोलुपता, अस्थिरता, परिवारवाद एवं भ्रष्ट आचरणका कारण उहाँ राजनीतिक एवं वैचारिक रूपमा नै विचलित भई सिंगो पार्टीलाई विघटन एवं बिसर्जनको दिशामा अगाडि बढाउँदै कांग्रेस सभापतिको शरणामा पुगेको स्थिति छ ।’
रायमाझीले सुशासन सहितको स्थिरतामार्फत मुलकमा दीगो/चौतर्फी विकास एवं समृद्धि तथा नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा एवं विकासका लागि अहिले केपी ओलीको नेतृत्वमा रहेको कम्युनिस्ट पार्टीसँग एकता र सहकार्यको प्रक्रियामा नै रहेको विज्ञप्तिमार्फत स्पष्ट पारेका छन् ।
‘सुशासनसहितको स्थिरतामार्फत मुलकमा दीगो/चौतर्फी विकास एवं समृद्धि तथा नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा एवं विकासका लागि अहिले हामी क. केपी ओलीको नेतृत्वमा रहेको कम्युनिस्ट पार्टीसँग एकता र सहकार्यको प्रक्रियामा नै रहेकोले औपचारिक रूपमा विघटनको घोषणा गर्न मात्र बाँकी रहेको माओवादी केन्द्रको आयू बढाउन गरिएका यी र यस्ता भ्रम एवं षड्यन्त्रपूर्ण झांसामा नआउन सम्पूर्ण आदरणीय देशभक्त एवं प्रगतिशील महानुभावहरू/जनसमुदायमा हार्दिक अनुरोध/अपिल छ,’ रायमाझीले भनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।