काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका उपप्रधानमन्त्री राजेन्द्र महतोले पदभार ग्रहण लगत्तै संविधानविपरीत विवास्पद अभिव्यक्ति दिएका छन् ।
उपप्रधान तथा शहरी विकासमन्त्री महतोले शनिवार पदभार ग्रहणलगत्तै संविधानको मर्म र प्रस्तावना विपरीत हुने गरी नेपाललाई बहुल राष्ट्रिय राज्य स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलन तयारी गर्ने अभिव्यक्ति दिए ।
महतोको अभिव्यक्तिको चौतर्फी विरोध र आलोचना भएको छ । देशको सार्वभौमिकताविपरीत अभिव्यक्ति दिएको भन्दै उपप्रधानमन्त्री महतोलाई बर्खास्त गर्न खबरदारी गरिएको छ । तर प्रधानमन्त्री केपी शर्मा ओली हालसम्म पनि यो विषयमा मौन बस्नुलाई आश्चर्यका रुपमा हेरिएको छ ।
विवास्पद अभिव्यक्तिपछि चौतर्फी आलोचना खेपिरहेकै बेला पुनः शनिबार दिउँसो जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले आयोजना गरेको कार्यक्रमपछि पनि उनले नेपाल बहुल राष्ट्रिय राज्य भएको जिकिर गरेका छन् । बहुल राष्ट्रिय राज्य भएकाले त्यसअनुसार नियम, कानून, संविधान र सहभागिता हुनुपर्ने उनको तर्कसमेत छ ।
‘बहुल भनेको एक जात, एक वर्ग, एक समुदाय होइन, सबैको राज्य शासनमा प्रतिनिधित्व हुनुपर्छ,’ महतोले भने, ‘यो नभएसम्म जनताले आफ्नो अधिकार र पहिचानका लागि संघर्ष गरिरहन्छ ।’
संविधान नै अपुरो रहेको जिकिर गर्दै महतोले देशमा कुनै समस्या छैन भन्नु जनतालाई धोका दिनु रहेको बताए । ‘यदि कसैले यो देशमा अब ठीकठाक छ, केही समस्या नै छैन भन्छ भने त्यो देश र जनताका लागि धोका हो,’ महतोले भने ।
उपप्रधानमन्त्री महतोको विवास्पद अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ । पूर्व गृहमन्त्री तथा एमाले उपाध्यक्ष बामदेव गौतम, पूर्वमन्त्रीहरु योगेश भट्टराई, गोकर्ण विष्ट, एमालेका विभिन्न १८ जनसंगठन लगायतले विरोध गरेका छन् भने विभिन्न पार्टीनिकट जनवर्गीय संगठनले महतोको पुत्लादहन सुरू गरेका छन् ।
महतोको अभिव्यक्तिको विरोधमा उत्रिएका खनाल–नेपाल पक्षका ११ विद्यार्थी नेतालाई प्रहरी पक्राउ गरेको छ । अनेरास्ववियू अध्यक्ष र महासचिवसहित ११ विद्यार्थी नेतालाई प्रहरीले काठमाडौं बानेश्वरबाट पक्राउ गरेको छ ।
संविधानविद्ले उपप्रधानमन्त्रीको अभिव्यक्ति संविधानको मर्म र भावनाविरुद्ध भएको टिप्पणी गरेका छन् । संविधान प्रस्तावनामा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्र्धन गर्ने उल्लेख गरिएको छ ।
संविधानको धारा–३ मा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भनिएको छ ।
विवास्पद अभिव्यक्ति दिएका महतोले बहुल भनेको एक जात, एक वर्ग, एक समुदाय नभएर सबैको राज्य शासनमा प्रतिनिधित्व हुनुपर्ने र यो नभएसम्म जनताले आफ्नो अधिकार र पहिचानका लागि संघर्ष गरिरहने भन्दै आफ्नो बचाउ गर्न खोजेका छन् ।
नेकपा एमाले उपाध्यक्ष बामदेव गौतमले उपप्रधान तथा शहरी विकासमन्त्री महतोको योजना नेपाललाई बिखण्डन गर्ने भएको भन्दै विरोध जनाएका छन् । संविधानको मर्मविपरीत कार्य गर्ने छैन भनेर शपथ ग्रहण गरेको आधा घण्टा नबित्दै महतोबाट आएको अभिव्यक्तिले आफू दुःखी भएको उनले बताए ।
पूर्व गृहमन्त्री समेत रहेका गौतमले शनिवार सामाजिक सञ्जालमार्फत महतोको योजना नेपाललाई विभाजन गर्ने रहेको जनाउँदै कडा विरोध गरेका छन् ।
‘राजेन्द्र महतोले अहिले पनि सञ्चालन गरिरहेको त्यो कथित आन्दोलन नेपाल बिखण्डन गर्नेभन्दा अर्को हुन सक्दैन । नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनै पनि देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन,’ उनले भने, ‘राजेन्द्रजीको त्यो मागलाई अस्वीकार र विरोध मात्र गर्न सकिन्छ ।’
उपाध्यक्ष गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले महतोले सञ्चालन गरिरहेको मुक्ति आन्दोलन सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चर्यचकित भएको समेत बताए । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।