काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा नवनियुक्त उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउन राष्ट्रिय मुक्ति आन्दोलन गर्ने विवादित अभिव्यक्ति दिएका छन् ।
पदबहालीपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै महतोले भने, ‘बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने काम पार्टीको एजेण्डा हो, पार्टीको एजेण्डा अगाडि बढाउँदै जाने र विगतका आन्दोलनका माग र मुद्दालाई पनि सम्बोधन गर्दै लैजाने तयारी गरेका छौं ।’
उपप्रम महतोले माग पूरा गर्न सरकारमा गएको समेत बताए । उनले आन्दोलनका केही माग सम्बोधन भएका र केही माग बाँकी रहेका बताएका छन् ।
महतोले संसद विघटनको मुद्दा सर्वोच्चमा चलिरहेको र त्यो अदालतको विषयवस्तु भएकाले चलिरहने बताएका छन् । ‘हामी आफ्ना माग मुद्दाका लागि सरकारमा ज्वाइन गरेका हौं । आन्दोलनका केही माग मुद्दामा सम्बोधन भएका छन्, केही बाँकी छ । मुख्य रूपले जनताको माग र मुद्दा हो । त्यसकै लागि सरकारमा सहभागी भएका छौं । त्यसैले अदालतले के भन्छ त्यो हाम्रो सरकारको विषय होइन ।’
उपप्रम महतोले जति दिन सरकारमा रहिन्छ माग र मुद्दामा केन्द्रित रहेर काम गर्ने बताएका छन् । महतोले देशमा वैकल्पिक शक्ति निर्माण गर्ने विषयलाई पार्टीको एजेण्डा बनाउने समेत बताए ।
जसपाको उपेन्द्र पक्षलाई आफ्नो केही भन्नु नभएको उनले बताए । ‘जो जो सहमत छैनन्, असहमति व्यक्त गर्न सक्छन् केही छैन,’ उनले भने ।
उपप्रम महतोले नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने अभिव्यक्ति दिएपछि नेकपा एमालेका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले नवनियुक्त महतोको बोलीमा लगाम लगाउनुपर्ने बताएका छन् ।
शुक्रवार उपप्रधान तथा शहरी विकास मन्त्रीको शपथ खाएका महतोले बहुराष्ट्रिय राज्यको बहस निकाल्दै विवादित अभिव्यक्ति दिएपछि नेता भट्टराई आक्रोशित बनेका छन् ।
नेता भट्टराईले महतोको बोलीले राम्रो संकेत नगरेको र देशलाई फेरि द्वन्द्वतर्फ फर्काउने अभिव्यक्तिमाथि लगाम लगाउन प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै नेता भट्टराईले पहिलो र दोस्रो संविधान सभामा असान्दर्भिक भइसकेको बहुराष्ट्रिय राज्यको बहस नवनियुक्त उपप्रधानमन्त्री महतोले पुनः उठाएको भन्दै आपत्ति व्यक्त गरे ।
नेता भट्टराईले शुक्रवार राति फेसबूकमा लेखेका छन्, ‘पहिलो र दोस्रो संविधानसभामै असान्दर्भिक भइसकेको बहुराष्ट्रिय राज्यको बहस आज नियुक्त भएका उपप्रधानमन्त्रीले पुनः उठाएछन् । संकेत राम्रो छैन । देशलाई फेरि द्वन्द्वतिर फर्काउने यस्ता अभिव्यक्तिमाथि लगाम लगाउनुहोला प्रधानमन्त्रीज्यू ।’
नेपालको संविधानको धारा ३ ले राष्ट्रको परिभाषा ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’ भनेको बताउँदै उनले विविधतामा आधारित नेपाली राष्ट्रियता नै हाम्रो साझा राष्ट्रियता रहेको जनाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।