काठमाडौं – सत्तारुढ दल नेकपा एमालेमा विवाद चर्किंदै गएर फुटनजिक पुगेपछि एकता जोगाउन दोस्रो तहका नेताले सक्रियता बढाएका छन् ।
प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच विवाद चर्किंदै गएको छ ।
ओली र नेपाल पक्ष पार्टी सञ्चालन, विधान, विधि, प्रक्रिया विषयमा अडान लिँदै आ–आफ्नै रणनीति अनुसार अघि बढ्न खोजेपछि विभाजन नजिक पुगेको छ ।
एकता जोगाउने विषयमा दोस्रो तहका नेताबीच गम्भीर छलफल सुरू भएको छ । शीर्ष नेतालाई दबाब दिँदै उनीहरु पार्टी एकता जोगाउन अघि बढ्नुपर्ने निष्कर्षमा पुगेका छन् ।
स्रोतका अनुसार सर्वोच्च अदालतको फैसलापश्चात् ब्युँतिएको एमाले २०७५ जेठ २ गतेकै विन्दुबाट सहमतिसाथ अगाडि बढ्ने निष्कर्षमा नेताहरु पुगेका छन् ।
ओली पक्षबाट नेता सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली र नेपाल पक्षबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई सहितका नेताले एकता जोगाउने विषयमा छलफल गरेका छन् । सहभागी एक नेताका अनुसार सोमवार रातिसम्म पार्टी विवाद समाधान र एकता विषयमा छलफल भएको छ ।
‘कम्युनिस्ट आन्दोलनको जगेर्ना र एकताका लागि हामी गम्भीर छलफलमा छौं,’ सहभागी ती नेताले भने, ‘हामी आफंैमा लडेर कोही कसैलाई फाइदा हुँदैन, एमाले ब्युँतिएपछि जेठ २ गतेकै अवस्थाबाट कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल चलिरहेको छ ।’
ओली र नेपालको अडानबीच पार्टी विवाद बढ्दै गएपछि एकले अर्कोको निर्णय अस्वीकार गर्दै अगाडि बढिरहेका छन् ।
विवाद समाधानका लागि यसअघि ओली र नेपालले १० सदस्यीय कार्यदल गठन गरेको थियो तर सो कार्यदल निष्क्रिय अवस्थामा छ । नेताहरु कार्यदलमार्फत् पार्टी एकता विषयमा छलफलअघि बढाउनुपर्ने निष्कर्षमा पुगेका छन् । ओली र नेपालबीच छलफल गराउने प्रयास उनीहरुले गरिरहेका छन् ।
नेपाल पक्षले सर्वोच्चको फैसलाअनुसार २०७५ जेठ २ गतेकै पार्टी नेतृत्व, विधान, कमिटी अनुसार अगाडि बढ्नुपर्ने अडान राखेको छ । तर ओली पक्ष यसबीच माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेका नेता व्यवस्थापन गर्दै अघि बढ्नुपर्ने अडानमा रहेको छ ।
नेपाल र वरिष्ठ नेता झलनाथ खनाल सहितका ११ नेतालाई पार्टी साधारण सदस्य समेत नरहने गरी पार्टीको सम्पूर्ण जिम्मेवारीबाट कारवाही गरेको ओली पक्षले अर्को चरणमा १२ नेतालाई स्पष्टीकरण सोधेको छ । तर उनीहरुले हालसम्म जवाफ दिएका छैनन् ।
पार्टी निर्णय उल्लंघन गरेको, आफ्नै पार्टी नेतृत्वको सरकार गिराउने, विश्वासको मत नदिने, कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने, प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिने, राष्ट्रिय सभा उपनिर्वाचनमा असहयोग लगायत आरोप ओली पक्षले नेपाल समूहमाथि लगाउँदै आएको छ ।
पार्टी विधान उल्लंघन गर्ने, आफूखुशी मनपरी अघि बढ्न खोज्ने, प्रतिनिधिसभा विघटन, सरकार सञ्चालनमा असफल भएकोलगायत आरोप ओलीमाथि नेपाल समूहले लगाउँदै आएको छ ।
मंगलवार बसेको एमाले स्थायी कमिटी बैठकले पार्टी एकता जोगाउने विषयमा अन्तिमसम्म प्रयास जारी नै राख्ने निष्कर्ष निकालेको छ । परराष्ट्रमन्त्री समेत रहेका एमाले प्रवक्ता प्रदीप ज्ञवालीले एकता जोगाउने विषयमा बैठकमा छलफल भएको बताएका छन् ।
‘पार्टीको आन्तरिक एकताका लागि भइरहेका छलफलबारे बैठकमा विवेचना भयो,’ ज्ञवालीले भने, ‘एकता बचाउन नेतृत्व तहबाट अन्तिम समयसम्म पनि प्रयास जारी राख्ने बारेमा छलफल भएको छ ।’
बैठकमा १२ नेतालाई कारबाही गर्ने एजेन्डा भएपनि अन्तिम समयमा त्यस विषयमा निर्णय केही पनि भएन । यसअघि नै सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, भवानी खापुङ, यज्ञराज सुनुवार, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, नारायण खतिवडा, सोमप्रसाद पाण्डे, मेटमणि चौधरी, झपट रावल, दीपकप्रकाश भट्ट र विरोध खतिवडालाई स्पष्टीकरण सोधिएको थियो । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।