काठमाडौं – नेपालले छिमेकी मुलुक भारतसँग खरिदका लागि प्रक्रिया अगाडि बढाएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको १० लाख मात्रा खोप उपलब्ध गराउन सहजीकरण गरिदिन आग्रह गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई कूटनीतिक पत्र लेखेर खोपका लागि सहजीकरण गरिदिन आग्रह गरेकी हुन् ।
नेपालले १० लाख मात्रा खोप खरिदका लागि पहिल्यै रकम भुक्तान गरिसकेको छ । सोही खोप उपलब्ध गराउनका लागि राष्ट्रपति भण्डारीले सहजीकरणको अपिल गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए ।
पत्रमार्फत राष्ट्रपति भण्डारीले भारतमा कोरोना महामारीका कारण उत्पन्न संकटले त्यहाँको धेरै जनताको ज्यान गएकोमा दुःख प्रकट गरेकी छन् ।
महामारीबाट प्रताडित रहेको अवस्थामा छिमेकी मुलुकबीच आपसी सहकार्य गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिइन् । अझ नेपाल–भारतबीच रहेको खुला सिमानाले नजिक बनाएको सम्बन्धका कारण पनि थप साझेदारी र सहकार्य आवश्यक रहेको उनले औंल्याइन् ।
उनले कोभिड महामारी रोकथाम र व्यवस्थापनका लागि भारत सरकारले गरेको सहयोगका लागि धन्यवाद प्रकट गरेकी छन् ।
राष्ट्रपतिले लेखेको कूटनीतिक पत्र परराष्ट्र मन्त्रालयले मंगलवार नै भारतीय राष्ट्रपतिको कार्यालयमा पठाइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । नेपालले भारतसँग २० लाख डोज कोभिसिल्ड खोप खरिदका लागि भुक्तान गरेकोमा १० लाख मात्रा मात्र खोप नेपाल आएको छ ।
भारतमै कोरोना तीब्र प्रसार भएपछि बाँकी १० लाख डोज भारतले दिन सकेको छैन । सोही खोपका लागि नेपाल सरकारले विभिन्न कूटनीतिक पहलमार्फत् सहजीकरणका लागि अनुरोध गरिरहेको छ । आजको गोरखापत्र दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।