काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली भाषण गर्छन् तर काम गर्दैनन् । यो तथ्यलाई थुप्रै सन्दर्भले पुष्टि गरिसकेका छन् ।
कोरोना भाइरस संक्रमणको महामारी नियन्त्रणका लागि नेपालमा खोप अभियान सुरु भएका बेला ओलीले ३ महिनाभित्र सबै नेपालीलाई खोप लगाइसक्ने घोषणा गरेका थिए । तर ३ महिना बितिसक्दा खोप लगाइसक्नु त कहाँ हो कहाँ कोरोना महामारी झन् विकराल बनेको छ ।
राजनीतिक दाउपेचको खेलमा लागेर यतिबेला ओली संकटमा छन्, राजनीतिबाट एक्लिएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्ष मिलेका छन् भने ओली एक्लै छन् ।
यस्तो जटिल अवस्थामा पनि ओलीले प्रतिनिधिसभा विघटन गरेर आगामी कात्तिक र मंसिरका लागि निर्वाचन घोषणा गरेका छन् । एक्लै परेका बेला ओलीले कसरी चुनाव जित्छन् ?
ओलीले चुनाव जित्न भित्रभित्रै खोप रणनीति अगाडि बढाएका छन् । चुनाव हुनुअघि नै अधिकांश नेपालीलाई खोप लगाइसक्ने र खोपसँग भोट साट्ने राजनीति गर्ने ओलीको रणनीति रहेको स्रोतले जनाएको छ ।
छिटोछिटो खोप ल्याउनकै ओलीले कानुन संशोधन गर्दै कोभिड संकट सम्बन्धी अध्यादेश ल्याएका छन् । अध्यादेशमा टेकेर फटाफट खोप लगायत स्वास्थ्य सामग्री ल्याउन ओलीले मंगलबार निर्देशन दिएका छन् ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रण निर्देशक समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले मंगलबार बैठकमा जुनसुकै देशबाट भएपनि प्रमाणित, प्रभावकारी र ढुवानी सहज गर्न सकिने खोपका लागि पहल गर्न मन्त्रालय र केन्द्रका प्रमुखलाई विशेष निर्देशन दिएका छन् ।
कोभिड रोकथामसम्बन्धी अध्यादेश जारी भएपछि समितिको पहिलो बैठकलाई मंगलबार सम्बोधन गर्दै ओलीले भने, ‘खोप ल्याउन सकियो भने कोभिड विरुद्धको लडाइँ जितिन्छ । अन्यथा लडाइँ गरिरहनुपर्ने भयो ।’ कोभिडको लडाइँ र चुनाव सँगसँगै जित्ने ओलीको रणनीति रहेको स्रोतले जनाएको छ ।
कोभिड १९ विरुद्धको लडाइँ जित्न उपलब्ध स्वास्थ्य सेवालाई चुस्त–दुरुस्त बनाउँदै खोपको समुचित व्यवस्था गर्नेतर्फ ध्यान केन्द्रित गर्न ओलीले सम्बद्ध निकायलाई निर्देशन दिएका हुन् ।
जनताको जीवन बचाउने सरकारको प्राथमिकता भएकाले उपचारमा कुनै किसिमको ढिलाइ गर्ने छुट कसैलाई नभएको प्रधानमन्त्री ओली बताए । सरकारले हालै ल्याएको कोभिड–१९ सम्बन्धी अध्यादेश बमोजिम गठित कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई आवश्यक जनशक्ति र स्रोतसाधन सरकारले तत्कालै उपलब्ध गराउने पनि उनले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।