काठमाडौं - राष्ट्रपति कार्यालयले शुक्रबार राति जारी भएका दुई विवादास्पद सूचना रातारात डिलिट गरेपछि अहिलेको सरकार कतिसम्म कीर्ते रहेछ भन्ने फेरि प्रमाणित भएको छ ।
राष्ट्रपति कार्यालयले जारी गरेका दुई सूचनामा संवैधानिक त्रुटि रहेको फेला परेपछि रातारात राष्ट्रपति कार्यालयको वेबसाइटबाट हटाइएको छ ।
आज विपक्षी गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राजमोले सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी भएपछि आफूले गरेका त्रुटि हटाएर सच्याएर राख्न राष्ट्रपति कार्यालयले सूचना डिलिट गरेको हो । यसअघि प्रधानमन्त्री केपी ओलीले पनि यस्तै कीर्ते गरेका थिए ।
उनले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ गते आमनिर्वाचनको मिति तोक्न राष्ट्रपति कार्यालयमा सिफारिस गरेका थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट सिफारिस पुगेको केहीबेर नबित्दै राष्ट्रपति भण्डारीले सिफारिसलाई स्वीकृत गरिन्।
प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै निर्णय खारेज गर्न माग गर्दै राष्ट्रपति कार्यालयका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा रिटहरू दर्ता भए।
मुद्दाको सुनुवाइ गरिरहेको संवैधानिक इजलासले प्रतिनिधिसभा भंग गर्ने निर्णयबारे पुस १० गते कारण देखाऊ आदेश दियो। कारण देखाऊ आदेशपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले महान्याधिवक्ता कार्यालयमार्फत सर्वोच्च अदालतमा पुस १९ गते जवाफ पठायो।
त्यसमा सरकारको लिखित जवाफ पनि थियो अनि मन्त्रिपरिषदको निर्णय लेखिएको पुस्तिका पनि। तर, चार दिन नबित्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जवाफसहितको सक्कली फाइल सर्वोच्च अदालतबाट झिकाइयो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सर्वोच्च अदालतको संवैधानिक मुद्दा शाखाबाट प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति तोक्ने विषयको २०७७ पुस ५ को मन्त्रिपरिषदको निर्णय र प्रधानमन्त्री ओलीबाट संघीय संसदको प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशका लागि नेपाली जनतासमक्ष २०७८ वैशाख १७ गर २७ गते सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न राष्ट्रपतिसमक्ष पेश भएको सिफारिस फिर्ता लगेको थाहा पाएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा क्रुद्ध बनेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।