काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारी बढ्दै गएपछि रोकथामका लागि स्वास्थ्य आपतकाल घोषणा गर्नेबारे मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ ।
सोमबार बालुवाटारमा बसेको बैठकमा स्वास्थ्य आपतकालको मोडालिटीबारे समेत छलफल भएको एक मन्त्रीले जानकारी दिए ।
स्वास्थ्य आपतकालका बेला पूर्ण रूप बन्द वा नियन्त्रित रुपमा सञ्चालन गर्न आदेश दिन सकिने, द्रूत प्रतिकार्य टोली सञ्चालन गर्न सकिने, कोभिड–१९ एकीकृत केन्द्रीय अस्पताल सञ्चालन गर्न सकिने, एकीकृत उपचार प्रणाली व्यवस्था गर्ने लगायतका मोडालिटीबारे छलफल भएको छ ।
आपतकालमा आवश्यक पर्दा जुनसुकै बेला पनि द्रूतगतिमा समस्या समाधान गर्न नेपाली सेना परिचालन गर्नेबारे समेत छलफल भएको छ । सेनासँगै नेपाल प्रहरी लगायत अन्य सुरक्षाकर्मीलाई समेत परिचालन गरेर कोरोना रोकथाम गर्ने मोडालिटी बनाइएको छ ।
कोरोना विरुद्धको खोप खरिद गर्न महामारीको अवधिमा सार्वजनिक खरिद ऐन, नियमावलीलाई संशोधन गर्न सकिने विषयमा पनि छलफल भएको छ ।
बैठकमा आपतकालबारे औपचारिक निर्णय नभएपनि नियमित बढुवा लगायतका प्रशासनिक निर्णय भने भएका छन् ।
यसअघि सीसीएमसीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘प्रक्रिया छोट्याएर हप्तामा हुने कामलाई दिनमा र दिनमा गर्ने कामलाई घण्टामा गरेर भएपनि तत्काल नागरिकको जीवन रक्षाका लागि जे–जे गर्नुपर्छ गर्नुहोस् ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।