काठमाडौं – नेपाली कांग्रेसले आसन्न चुनावका लागि उम्मेदवार छान्न पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक डाँकेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो बस्ने गरी पदाधिकारी बैठक बोलाइएको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
उनका अनुसार बैठकमा १४ औं महाधिवेशनको तयारी, राष्ट्रियसभा उपनिर्वाचनमा लागि उम्मेदवार चयन तथा केन्द्र र प्रदेश सत्ता समीकरण लगायतका विषयमा छलफल हुने भएको छ ।
नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई राष्ट्रियसभा सदस्यबाट पदमुक्त गरेपछि जेठ ६ गते उपनिर्वाचन तोकिएको छ । निर्वाचन आयोगले उपचुनावको तयारी थालिसकेको छ ।
कांग्रेसले आफ्ना उम्मेदवार जिताउन अन्य दलसँग सहकार्य गर्ने विषयमा समेत बैठकमा छलफल गर्ने भएको छ । नेकपा एमालेले बादललाई नै उम्मेदवार बनाउने भएपछि कांग्रेसले बादलसँग प्रतिस्पर्धा गर्नका लागि अन्य दलसँग छलफल गरेर उम्मेदवार तय गर्ने भएको छ ।
बागमती प्रदेशका प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदाता रहेको उपचुनावमा कांग्रेस उम्मेदवार निर्वाचन हुन एमालेका माधव नेपाल पक्षको भूमिका निर्णायक देखिएको छ ।
नेकपा एमाले पार्टी भित्रको चरम अन्तरविरोधका कारण माधव नेपाल पक्षका जनप्रतिनिधिले बादललाई मत नदिएर क्रस भोटिङ गर्ने अनुमान समेत गरिँदैछ । यसअघि नेपाल पक्षले कर्णाली प्रदेशमा पार्टी निर्णय विपरीत क्रस भोटिङ गरिसकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।