काठमाडौं – सत्ता समीकरण फेरबदल हुँदा नेकपा माओवादी केन्द्रले जनता समाजवादी पार्टी (जसपा) लाई फकाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन प्रयास गरिरहेका बेला २ नम्बर प्रदेश सभामा माओवादी र जसपाले उस्ताउस्तै प्रस्ताव दर्ता गराएका छन् ।
२ नम्बर प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने माओवादी र जसपाका २ वटा प्रस्ताव दर्ता भएपनि प्रस्तावित नाम र राजधानी उस्ताउस्तै छन् ।
प्रदेशसभा सचिवालयले स्थायी राजधानी र नामकरणका लागि बैशाख ९ गतेसम्मका लागि प्रस्ताव आह्वान गरेपछि आईतवार २ वटा प्रस्ताव दर्ता भएका छन् ।
सत्तारुढ दल जसपा र विपक्षी दल नेकपा माओवादी केन्द्रले प्रस्ताव दर्ता गराएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले बताए । यादवका अनुसार दुबै दलले छुट्टाछुट्टै रूपमा प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम हुनुपर्ने प्रस्ताव दर्ता गराएका हुन् ।
जसपाका सांसद शैलेन्द्रकुमार यादवले प्रदेशको नाम मधेश हुनुपर्ने भन्दै दर्ता गराएको प्रस्तावमा सांसदहरू रानी शर्मा तिवारी र वविता कुमारीले समर्थन गरेका छन् ।
नेकपा माओवादी केन्द्रका सांसद भरतप्रसाद साहले मधेश नामाकरण हुनुपर्ने भन्दै दर्ता गराएको प्रस्तावमा जगतप्रसाद यादव र दिलीपकुमार साहले समर्थन गरेका जनाइएको छ ।
प्रदेशको राजधानी जनकपुरधाम हुनुपर्ने भन्दै जसपाका सांसद परमेश्वर साहले प्रस्ताव दर्ता गराएका छन् । जसमा चमेलीदेवी दास, सञ्चमाया मोक्तान र मीराकुमारी साहले समर्थन गरेका छन् भने माओवादी केन्द्रका सांसद भरतप्रसाद साहले दर्ता गरेको प्रस्तावमा जगतप्रसाद यादव र दिलिपकुमार साहले समर्थन गरेका छन् ।
माओवादी र जसपाको समान प्रस्तावमा प्रदेश सभामा सामान्य बहुमत पुगेको छ । तर प्रदेशको नामाकरण गर्न र स्थायी राजधानी तोक्न कूल सांसद संख्याको दुईतिहाइ चाहिन्छ । २ नम्बर प्रदेशमा १०७ जना सांसद रहेकोमा ४ जनालाई माओवादीले बर्खास्त गरेपछि अहिले प्रदेशमा १०३ सांसद रहेको छन् । तत्काल कायम रहेको कूल संख्याको दुईतिहाइ ६९ जनाले समर्थन गरेमा प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्न सकिने अवस्था छ ।
जसपा र माओवादीको समान प्रस्ताव हुँदा समेत दुईतिहाइ नपुग्ने भएकाले प्रदेशको नाम मधेश राख्न सहज देखिँदैन । जसपाको ५५ र माओवादी केन्द्रका ७ गरी ६२ जना सांसद छन् । प्रदेशको नाम मधेश राख्न थप ८ जना सांसदको समर्थन चाहिने भएको छ ।
प्रदेशमा नेकपा एमालेका २१ सांसद, नेपाली कांग्रेसका १९ सांसद नेपाल संघीय समाजवादी पार्टीका १ जना सांसद रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।