काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ६ महिनाका लागि निलम्बन गरेपछि नेता माधवकुमार नेपाल लगायतले पार्टीभित्रै समानान्तर गतिविधि गरिरहेका छन् । कर्णाली प्रदेशका नेता नेपाल पक्षीय सांसदले नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फाइदा पुग्ने गरी फ्लोर क्रस नै गरेका छन् ।
यस्तो बेला एमालेबाट लखेटिएका नेता नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी एकीकरण हुनसक्ने सम्भावनाबारे चर्चा चलिरहेको छ । यसैबीच नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेता नेपाल पक्षसँग पार्टी एकता हुनसक्ने खुलासा समेत गरेका छन् ।
पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारमा माओवादी केन्द्रले आईतबार आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता पौडेलले नेपाल पक्षसँग निकट भविष्यमै एकता गर्ने गरी गम्भीर रूपमा वार्ता र छलफल अघि बढेको बताए ।
बलियो कम्युनिस्ट शक्ति निर्माणका लागि विभाजित सबै दलसँग एकताका लागि पहल भइरहेको बताउँदै नेता पौडेलले एमाले, जनता समाजवादी पार्टी (जसपा) र माओवादीकै अन्य समूहसँग समेत निरन्तर छलफल र संवाद भइरहेको बताएका छन् ।
नेपाली कांग्रेस आफ्नो नेतृत्वमा सरकार बनाउन पूर्ण रूपमा तयार रहेको बताउँदै पौडेलले जसपा संस्थागत ढंगले एक भएर उभिन नसकेका कारण ढिलाइ भएको बताएका छन् ।
पौडेलले जसपाका बहुमत सदस्य नयाँ सरकार बनाउने पक्षमा रहेपनि केही नेता प्रधानमन्त्री केपी शर्मा ओलीप्रतिको निकटताका कारण पार्टीमा समस्या परेको बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।