काठमाडौं - २०७७ ले बिदा लिएको छ । बितेको वर्ष नेपाली मात्र होइन, संसारकै लागि निकै कष्टकर रह्यो । कोरोना भाइरस महामारीले सम्पूर्ण जगतले नै कष्ट भोग्दै आउनु परेको छ ।
यो भाइरसबाट संसारभर झन्डै ३० लाख मानिसले ज्यान गुमाएका छन् । नेपालमा पनि मृत्यु हुनेको संख्या मंगलबारसम्म तीन हजार ५८ पुगेको छ । कैयौं देशमा कोरोना भाइरसको तेस्रो र चौथो लहर सुरु भएको छ ।
चैत अन्तिम सातादेखि नेपालमा पनि कोरोनाको दोस्रो लहर सुरु भएको अनुमान गरिएको छ । दैनिक रूपमा बढ्दो संक्रमण र मृत्युदरले पनि त्यसको पुष्टि गर्छ ।
कोरोना भाइरसले नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन, शिक्षा, स्वास्थ्य सबैलाई ध्वस्त बनाएकै थियो, तर त्योभन्दा पनि राजनीतिक अस्थिरताले नेपालीमा धेरै चोट पुगेको छ ।
यसको प्रमुख कारणमा सत्तारुढ दल एमाले र माओवादी केन्द्र अगाडि देखिएका छन् । कोरोनाका कारण सिर्जित लकडाउनमा पनि साविक नेकपा अहिलेको एमाले सरकारमा बस्नेले तमासा देखाउन छाडेनन् ।
सम्पूर्ण नेपाली घरमै थुनिएर बसेका बेला कम्युनिस्ट नेताहरू कुर्सीको लोभमा झगडामा व्यस्त रहे । जसले नेपाली जनतालाई झन् धेरै निराशा बनायो । पछिल्लो समय नेपालको राजनीति दुषित बन्नुमा प्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वामदेव गौतमलगायतका कम्युनिस्ट नेता धेरै जिम्मेवार छन् ।
जनतासँग स्थिर सरकारका लागि भन्दै दुई तिहाइको भोट मागेर सरकारमा पुगे पनि ओलीले त्यो प्रतिबद्धता पूरा गर्न सकेनन् । कतिसम्म भने उनी सबै राजनीतिक दल र नेतासँग एक्लिँदै गएका छन् ।
प्रतिनिधिसभा विघटनको निर्णय गरेर ओलीले आफ्नो राजनीतिक भविष्य धरापमा मात्र पारेनन्, संविधानकै धज्जी उडाए । कोरोनाले अर्थतन्त्र डामाडोल बन्दै जाँदा त्यसको क्षति रोक्न वर्तमान सरकार असफल रह्यो ।
भ्रष्टाचार, कुशासनमा भने ओली सरकार सफल रह्यो । बितेको वर्ष प्रधानमन्त्री केपी ओली नै केन्द्रविन्दुमा रहे । सर्वाधिक समाचारका शीर्षक बने । उनका अनेक उट्पट्याङ जनताले देख्न पाए । प्रतिनिधिसभा विघटन गरे । एमाले र माओवादी केन्द्रको एकता खारेज गर्न विशेष भूमिका खेले ।
एमालेका शीर्ष नेतालाई कारबाही मात्र गरेनन्, पार्टी विभाजनको भूमिकासमेत खेलेका छन् । कोरोना भाइरस नियन्त्रणमा गम्भीर र जिम्मेवार भएर लाग्नुपर्नेमा कहिले बेसार पानी त कहिले अम्बाको पत्ता उमालेर खाने, हाच्छुयँ गरेर कोरोना हटाउने जस्ता उट्पट्याङ कुरा गरेर चर्चामा आए ।
चुच्चे रेल ल्याउने गफ र पानीजहाजको कार्यालय उदघाटन गरेर पनि ओली समाचारका शीर्षक बने । तर, ती कुनै पूरा भएनन् । शिलान्यास र उदघाटन मोह ओलीमा धेरै देखियो । शिलालेखमा नाम लेखाउने चाहना उनमा धेरै देखियो ।
आफ्नै मन्त्रिपरिषदका मन्त्रीलाई निकालेर पाँचपटक भन्दा बढी मन्त्रिपरिषद् पुनर्गठन गरेर पनि ओली चर्चामा आए । अब २०७८ मा पनि ओली नै राजनीतिको केन्द्रविन्दुमा हुन्छन् कि नयाँ पात्र आउँछ भन्ने चासो देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।