काठमाडौं - राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ । बुधबार जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले वक्तव्य जारी गरेर प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको घोषणा गरेका हुन् ।
उनले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आउने अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने स्पष्ट पारेका छन् । तर, आफू नयाँ सरकारमा नजाने पनि उल्लेख गरेका छन् । केसीले भनेका छन्, ‘मुख्यमन्त्रीमा माओवादी केन्द्र र नेका जुन आए पनि त्यो उनीहरुबीच बन्ने समीकरणको कुरा हो । त्यसमा हाम्रो समर्थन रहने छ । तर त्यो सरकारमा हामी भने सहभागी हुने छैनौँ ।’
गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चासँग तीन सांसद छन् । उसले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार धरापमा परेको छ । उनी प्रधानमन्त्री केपी ओली निकट मुख्यमन्त्री हुन् ।
‘केन्द्रमा हामीले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि प्रदेशहरूमा एमाले र माओवादी केन्द्र मिलेर बनेका सरकारहरूलाई समर्थन कायमै राखेका थियौँ,’ वक्तव्यमा भनिएको छ, ‘त्यसको अर्थ हामीले वामपन्थीको सरकारमा जोड दिएका हौँ । गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्र अलग भएको स्थितिमा त्यहाँ ओली पक्षको मात्र सरकार हुन्छ ।
गण्डकी प्रदेश सरकारले ओलीको पक्षमा काम गरिरहेको छ । त्यसका क्रियाकलापहरुले प्रतिगमनलाई मद्दत पुग्छ । त्यसकारण गण्डकी प्रदेश सरकारका विरुद्ध प्रतिपक्षबाट आउने अविश्वासको प्रस्तावलाई हाम्रो समर्थन हुनेछ ।’ जनमोर्चाले प्रधानमन्त्री केपी ओलीको राजीनामा पनि मागेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।