काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि गठित सरकारी संयन्त्र पुनः सक्रिय भएको छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिवार बसेको बैठकले आफ्ना जिल्ला संयन्त्रलाई अझ बढी क्रियाशील बनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालले कोरोना संक्रमण बढिरहेकाले यसको नियन्त्रणका लागि सतर्कता अपनाउने र निगरानी राख्नुपर्ने विषयमा बैठकमा छलफल भएको बताएका छन् ।
‘विगतमा कोरोना संक्रमण अलि कम भएका बेला जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) निष्क्रिय भएका थिए । अब सावधानी अपनाउन सक्रिय बनाउने निर्णय भएको छ,’ सचिव बरालले भने, ‘विगतका निर्णयलाई एक्टिभेट बनाउने विषयमै छलफल भयो । सीमा नाकामा हेल्थ डेस्कलाई सक्रिय बनाउने निर्णय भएको छ । अहिले नै कडा कदम चाल्नु नपरोस् भन्ने हो । कडा कदम चाल्नुअघिको सतर्कता र सावधानीका विषयमा छलफल भएको छ ।’
भारतबाट फर्किनेको एन्टिजेन तथा पीसीआर परीक्षण गर्नुपर्नेमा जोड दिइएको सचिव बरालले बताएका छन् । क्वारेन्टीन व्यवस्थित गरी लक्षणविहीनलाई क्वारेन्टीनमा राख्ने विषयमा पनि बैठकमा छलफल भएको जनाइएको छ ।
बैठकमा विद्यार्थीमा नयाँ कोरोना संक्रमण तीव्र ढंगले बढेपछि ३ हप्ता शैक्षिक संस्था बन्द गर्ने विषयमा पनि छलफल भएको थियो । २ हप्तायता विद्यालय जाने उमेर समूहमा संक्रमण पुष्टि हुने क्रमसँगै विकल्पका रुपमा अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्ने विषयमा छलफल भएको छ । यो प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजाने कि नलैजाने विषयमा निर्णय भई नसकेको जनाइएको छ ।
काठमाडौं, पोखरालगायत क्षेत्रमा १२ वर्षमाथिका विद्यार्थीमा कोरोना संक्रमण देखिएको स्वास्थ्य विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ । एसजिन नेगेटिभ (यूके भेरिएन्ट) को मात्रा बढ्दो क्रममा देखिएपछि विद्यालय बन्दको तयारी गरिएको छ ।
महाशाखाका निर्देशक डा. कृष्ण पौडेलका अनुसार भारतीय सीमावर्ती नाकाबाट स्वदेश फर्किएका नेपालीमा नयाँ कोरोना संक्रमण देखिएको छ । डा. पौडेलले भने, ‘कोरोना भाइरस पोजिटिभ पुष्टि भएका व्यक्तिमा यूके भेरियन्टसँग मिल्दोजुल्दो (बी १.७ भेरियन्ट) देखिएको छ । यो छिटो सर्ने र फैलने भाइरस हो । कम उमेरका व्यक्तिमा पनि बढी जटिलता देखापर्छ ।’ कोरोना संक्रमण दिनानुदिन वृद्धि भइरहेकाले अस्पताल भर्ना हुने दर बढी हुनसक्ने उनले बताएका छन् ।
अस्पतालको सघन उपचार कक्षमा भर्नादर बढी हुने आकलन स्वास्थ्य अधिकारीले गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुने खालका सभा, सम्मेलन तथा कार्यक्रम रोक्न सिफारिस गरिएको छ ।
शनिबारको विवरण अनुसार पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये काठमाडौंमा सबैभन्दा धेरै ११६ जना नयाँ संक्रमितमा कोरोना भाइरस पोजिटिभ पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ७२५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हाल मुलुकभर २ हजार ८०० जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट १ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा कोरोना संक्रमणले दैनिक रेकर्ड कायम गर्न थालेपछि नेपालमा जोखिम बढेको छ । भारतमा शनिवार १ लाख ४५ हजार ३८४ संक्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।