काठमाडौं – कम्युनिस्ट पार्टीभित्रको संघर्ष तथा नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि देखिएको संकटका बेला पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई झन् घाटा लागेको छ ।
नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई पदमुक्त गर्न प्रदेश सभालाई पत्राचार गरेपछि १ सांसद घटेको हो ।
दैलेख जिल्ला निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित सांसद रेग्मी नेकपा एकता बदर गर्ने सर्वोच्च अदालतको निर्णयपछि माओवादी केन्द्र परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेपछि कारवाही गरिएको छ । रेग्मीले माओवादी केन्द्रले सोधेको स्पष्टीकरणको समेत जवाफ दिएनन् ।
‘दल त्याग गरेको विषयमा स्पष्टीकरण सोधेको थियो, उहाँले त्यसको जवाफ पनि दिनुभएन,’ संसदीय दलका प्रमुख सचेतक सीता नेपालीले भनिन्, ‘पार्टी केन्द्रले पठाएको कारबाहीको पत्र शुक्रवार प्रदेश सभामा बुझाएका छौं ।’
नेपालीले एमालेको केन्द्रीय सदस्य र प्रदेश कमिटी सचिवको पद स्वीकार गरेर काम गरिरहेकाले संसद पदबाट मुक्त गर्न पत्राचार गरिएको जानकारी दिइन् । रेग्मी माओवादी केन्द्रको तर्फबाट कार्यव्यवस्था परामर्श समितिमा रहेका थिए ।
अब कार्यव्यवस्था परामर्श समितिमा रेग्मीको ठाउँमा माओवादी केन्द्रले रातो कामीलाई पठाउने निर्णय समेत गरेको छ ।
नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले संविधानको मर्म र भावनाविपरीत कार्य गरिरहेको आरोप समेत लगाएको छ । प्रमुख सचेतक नेपालीले नेकपा एमालेका १० सांसदले गरेको हस्ताक्षरलाई आधार मानेर प्रदेश प्रमुखले पटक–पटक सरकारलाई दबाब दिइरहेको आरोप लगाएकी छन् ।
‘१० जना सांसदको हस्ताक्षर परीक्षण नगरेरै सरकारमाथि दबाब बढाउन पटक–पटक पत्राचार गर्नु प्रदेश प्रमुखको कार्यक्षेत्रभित्र पर्दैन,’ शनिवार बसेको दलको बैठकका निर्णय सुनाउँदै नेपालीले भनिन् । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।