काठमाडौं – नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले भारत सरकारको आर्थिक सहयोगमा नेपालको तराई क्षेत्रमा निर्माण सम्पन्न भएका सडकहरू संयुक्त रूपमा बुधवार नेपालका जनतालाई समर्पित गरेका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, उपसचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा, हुलाकी राजमार्ग निर्देशनालयका परियोजना निर्देशक रोहित कुमार बिसुराल र भारतीय राजदूतावासका परियोजना प्रभागका प्रमुख प्रफुल्लचन्द्र शर्मा कार्यक्रममा उपस्थित थिए ।
नेपालको तराई क्षेत्रका सडक पूर्वाधारलाई स्तरोन्नत गर्ने सम्बन्धमा भारत र नेपालबीच भएको सहमति अनुरूप नेपाल सरकारले १० अत्यन्त आवश्यक सडकको पहिचान गरेको हो, जुन भारत सरकारको ८०० करोड रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुनेछन् । यी सडकलाई हुलाकी राजमार्गको नामले पनि चिनिन्छ र यी सडकले पूर्वपश्चिम राजमार्गमा अवस्थित प्रमुख शहरलाई भारत–नेपाल सीमासँग पनि जोड्छन् ।
नेपालको प्रदेश नम्बर १, २ र ५ का ७ सीमावर्ती जिल्लामा अवस्थित यी सडकले २८४ भन्दा बढी वडा, १४९ वटा गाउँ, १८ वटा गाउँपालिका, १८ वटा नगरपालिका, एक उपमहानगरपालिका र १ महानगरपालिकाका जनताहरूलाई जोड्न सघाउ पुर्याएको दूतावासले जनाएको छ ।
नेपालको सडक विभागले निर्धारण गरेको मापदण्ड अनुरुप यी १० सडकको निर्माण गरिएको हो । प्रत्येक सडकमा ७ मिटर कैरियज वे र सडकको दुवैतर्फ २ मिटरको रोड शोल्डरको व्यवस्था गरिएको छ । यी सडकमा ढल, बसोबास क्षेत्रमा रेलिङ सहितको पदमार्ग, सडक चिह्न र अन्य सडक फर्निचरको सुविधा पनि राखिएको छ ।
परियोजना अन्तर्गत ६५२ भन्दा बढी कल्भर्ट र १११ किलोमिटरभन्दा बढी ड्रेनेज नेटवर्कको पनि निर्माण गरिएको छ ।
भारत सरकारको आर्थिक सहयोग र नेपाल सरकारको कार्यान्वयन मोडालिटी अनुरूप परियोजनाको कार्यान्वयन भएको छ । ठेक्का उद्देश्यका लागि यी १० सडकलाई १४ वटा प्याकेजमा विभाजन गरिएको थियो ।
यी सडकको निर्माण हेतु सन् २०१६ अक्टोबरदेखि सन् २०१७ नोभेम्बरसम्मको अवधिमा सडक विभागले १४ वटा ठेक्का हस्तान्तरण गरेको थियो । यी सडकको निर्माणका लागि विशेष विवरणहरु सडक विभागले तयार पारेको विस्तृत परियोजना विवरणमा समावेश गरिएको छ ।
परियोजनाका लागि भारत सरकारको परामर्शदाताको रुपमा राष्ट्रिय राजमार्ग एवम् पूर्वाधार विकास निगम लिमिटेडलाई चयन गरिएको थियो ।

भारत सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएका तराई सडक परियोजनाले नेपालको तराई क्षेत्रको सडक पूर्वाधारलाई स्तरोन्नत गर्न ठूलो सहयोग पुर्याउनुका साथै २ देशका जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको छ । यी हुलाकी सडकले हालै भारतले नेपालमा निर्माण सम्पन्न गरेका र निर्माणाधीन अन्य प्रमुख सीमा पूर्वाधारहरू जस्तै वीरगञ्ज र विराटनगरमा अवस्थित एकीकृत चेकपोस्ट तथा अन्तरदेशीय रेलमार्गलाई पनि सहजता प्रदान गरेको छ । भारत सरकारको आर्थिक सहयोगमै भारतको जयनगरदेखि नेपालको कुर्थासम्म अन्तरदेशीय रेलमार्गको निर्माण सम्पन्न भइसकेको छ र यस परियोजनलाई सञ्चालनमा ल्याउने गरी नेपाल सरकारलाई हस्तान्तरण गर्न तयारी अवस्थामा छ । यस सम्बन्धमा दुवै पक्षले यात्रुवाहक रेललाई सञ्चालनमा ल्याउन अन्तिम तयारी गरिरहेको छ ।

१४ वटा प्याकेजमध्ये निर्माण सम्पन्न भई सम्बन्धित क्षेत्रका जनताले प्रयोग गरिरहेका १३ वटा प्याकेज बुधवार भारतीय राजदूत र भौतिक पूर्वाधार र यातायात मन्त्रीले संयुक्त रूपमा समर्पित गरे । यी हाल सालै निर्माण सम्पन्न भएका सडकले मानिसहरुको यात्रा तथा आवागमनलाई थम आरामदायी र सहज बनाएकोे छ ।
सम्बोधनका क्रममा राजदूत र मन्त्रीद्वयले नेपालको सडक विभागको हुलाकी राजमार्ग निर्देशनालयका अधिकारीहरू र परियोजनासँग आबद्घ सबै सरोकारवालाले परियोजनालाई सम्पन्न गर्न पुर्याएको सहयोग र सहकार्यको सराहना गर्दै धन्यवाद व्यक्त गरे ।
बुधवार सम्पन्न १३ वटा तराई सडक प्याकेजको हस्तान्तरणले २ देशबीचको विकास सहकार्यमा एउटा अर्को अध्याय थपेको दूतावासले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।