काठमाडौं – भारत सरकारको ‘खोप मैत्री’ कार्यक्रम अन्तर्गत भारतीय सेनाले नेपाली सेनालाई भारतमा उत्पादित कोभिड–१९ विरुद्धको खोपको १ लाख डोज उपहार स्वरूप प्रदान गरेको छ ।
टुँडिखेलस्थित नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा मंगलबार आयोजित एक समारोहबीच नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापालाई खोप हस्तान्तरण गरे ।
भारतीय सेनाका सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले सो खोप हस्तान्तरण समारोहमा भिडियो कन्फरेन्समार्फत सहभागिता जनाए । उनले २ देशका सेनाबीच भातृत्वको साइनो रहेको बताए ।
सो अवसरमा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले सो खोप उपहारका लागि भारतीय सेना र भारत सरकारलाई धन्यवाद व्यक्त गरे ।
खोप एयर इण्डियाको विमानमार्फत २०७७ चैत्र १५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो । कोभिड–१९ महामारीविरुद्ध लड्न भारतीय सेनाले नेपाली सेनालाई गत वर्षदेखि रेमडेसिभिर, एक्सरे मेसिन, रेडियोग्राफी उपकरण, आईसीयू भेन्टिलेटर, भिडियो इण्डोस्कोपी युनिट, एनेस्थेसिया मेसिन, ल्याब उपकरण तथा एम्बुलेन्स लगायत विभिन्न किसिमको सहयोग गर्दै आएको छ ।

भारतले अहिले प्रदान गरेको कोभिड–१९ विरुद्धको खोपको हस्तान्तरणले कठिन घडीमा २ देश र २ देशका सेनाबीच हुने सहकार्यलाई पुष्टि गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।