काठमाडौं - प्रधानमन्त्री केपी ओलीले जुनसुकै बेला संसद् विघटन गर्नसक्ने आकलन गर्न थालिएको छ । दलहरूबीच वैकल्पिक सरकार बनाउने बारे सहमति नभएपछि र ओली सरकार पनि प्राविधिक रूपमा बहुमतमा देखिए पनि कमजोर बन्न थालेको विश्लेषणपछि यस्तो आशंका गर्न थालिएको हो ।
प्रधानमन्त्री ओलीले अहिलेसम्म संसद् बैठकमा सहभागिता नजनाएका मात्र होइनन्, संसद्लाई बिजनेस नै दिएका छैनन् । त्यसैले बिजनेसविहीन बनाएर ओलीले संसद् विघटन गर्ने र अध्यादेशमार्फत सरकार चलाउने मनसुवा राखेका छन् ।
यसअघिजस्तै सभामुखसँगको परामर्शबिनै संसद अधिवेशन अन्त्य गर्नसक्ने आशंका बढेपछि सभामुख अग्निप्रसाद सापकोटा बालुवाटार पुगेर भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच तीन महिनादेखि औपचारिक भेटवार्ता हुन सकेको थिएन । ओलीले सभामुख सापकोटा सेटिङमा चलेको भनेर असन्तुष्टि जनाइरहेका थिए ।
सरकारले ल्याएको विधेयक र अध्यादेश रोक्न सभामुख लागेको भन्दै ओलीले सार्वजनिक रूपमै आक्रोश व्यक्त गरेका थिए । आफूनिकट सञ्चारमाध्यमलाई पनि उनले त्यही अभिव्यक्ति दिने गरेका थिए ।
सभामुख सापकोटाले संसद्ले बिजनेस पाउन नसकेको भन्दै प्रधानमन्त्री ओलीसँग समय माग गरिएको जानकारी दिएका थिए । जसअनुसार आइतबार प्रधानमन्त्रीलाई भेट्न सापकोटा प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
दुवैबीच झन्डै दुई घन्टा कुराकानी भएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । भेटवार्तामा संसदलाई प्रभावकारी बनाउने र सार्वजनिक महत्वको विधेयक अगाडि बढाउने विषयमा छलफल भएको उनको भनाइ छ ।
‘कार्यपालिका र व्यवस्थापिकाका प्रमुखबीच भेटघाट हुनु सामान्य कुरा हो, संसदलाई प्रभावकारी बनाउने र सार्वजनिक महत्वका विधेयकहरु अघि बढाउनेवारे उहाँहरुले छलफल गर्नुभएको हो’, न्यौपानेले भने । ओलीले सभामुख सापकोटाले प्रचण्डसँग मिलेर आफ्नो सरकारलाई असफल बनाउन खोजेको बुझेका छन् । त्यही भएर पनि कार्यपालिका प्रमुख र संसद् प्रमुखबीच दूरी बढेको हो ।
ओलीलाई भेटेर फर्केका सभामुख सापकोटा सरकारको दृष्टिकोण फरक भएको बुझेपछि चिन्तामा परेका छन् । उनले अब पनि सहज ढंगले संसद् चल्ने कुरामा ढुक्क नहुन आफूनिकटलाई भन्न थालेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।