काठमाडौं – भारत सरकारको ४ करोड २७ लाख ८० हजार रुपैयाँको आर्थिक सहयोगमा सर्लाही जिल्लाको मलंगवा नगरपालिका–३ र ४ मा बनेको कल्भर्ट र ढल निकासीको निर्माण कार्य सम्पन्न भएको छ ।
भारतको महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत नितेश कुमार र मलंगवा नगरपालिकाका मुख्य प्रशासनिक अधिकृत होमनाथ सुवेदीले संयुक्तरूपमा दुवै आयोजनाको उद्घाटन गरेका छन् ।
‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा कल्भर्ट र ढल निकासी निर्माण २ प्याकेजहरूमार्फत गरिएको हो । जसमा खानेपानी चोकदेखि नगरपालिका चोकसम्म ८०० मिटर र शिव सागर चोक सडकदेखि विश्वकर्मा चोक सडक ५०० मिटर रहेका छन् ।
परियोजना भारत सरकार र नेपाल सरकारबीचको सम्झौता अन्तर्गत एक उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा लिइएको भारतीय दूतावासले जनाएको छ ।
कल्भर्ट र ढल निकास निमार्णका लागि भारतीय दूतावास काठमाडौं र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत नगरपालिका कार्यकारीको कार्यालय, मलंगवा नगरपालिकाबीच सम्झौता भएको थियो । नवनिर्मित नालाले मलंगवा नगरपालिकाको ढल निकासी र सरसफाई प्रणाली बढाउने अपेक्षा गरिएको छ ।

परियोजनाले मलंगवा नगरपालिकामा रहेका ५०० घरपरिवारलाई प्रत्यक्ष वा अप्रत्यक्षरूपले लाभ पुर्याउने जनाइएको छ । परियोजनाले नेपाल र भारत बीचको विकास साझेदारीलाई प्रतिविम्बित गर्नुका साथै फोहोर व्यवस्थापनको क्षेत्रमा पूर्वाधार अभिवृद्धि गर्न नेपाल सरकारले गरेको प्रयासलाई थप बल पुर्याएको भारतीय दूतावासले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।