काठमाडौं – सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतम सक्रियता भएका छन् ।
उपाध्यक्ष गौतम आज बिहीबार बिहानै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका हुन् ।
गौतमले अध्यक्ष प्रचण्डसँग करीब १ घण्टा छलफल गरेका जनाइएको छ । पार्टी एकता अभियान सञ्चालन गरिरहेका गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको बहिर्गमनपछि पनि नेकपाकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने लगायतका विषयमा कुराकानी गरेका जनाइएको छ ।
प्रचण्ड–नेपाल पक्षले भने कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर बुधबार प्रधानमन्त्री बन्न अफर गरेको चर्चा छ ।
उपाध्यक्ष गौतम प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि दुई पक्षमा विभाजित नेकपाको कुनै पनि पक्षमा उभिएका छैनन् । गौतमले नेकपा एकता अभियान सञ्चालन गरिरहेका छन् ।
सर्वोच्चको फैसलापछि गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग गरेका छन् । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै उपाध्यक्ष गौतमले केपी ओलीले प्रधानमन्त्री पदबाट ढिला नगरी तुरुन्त राजीनामा दिनुपर्ने माग गरेका थिए ।
उपाध्यक्ष गौतमले दुबै अध्यक्ष ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग तुरुन्तै सचिवालय बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बोलाउन पनि अनुरोध गरेका छन् ।
गौतमले राष्ट्रपतिले संवैधानिक इजलासको निर्णयलाई हार्दिक स्वागत गर्दै प्रतिनिधिसभा अधिवेशन आह्वान गर्नुपर्ने पनि बताएका छन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएयता २०७७ फागुन ११ गतेको दिन ऐतिहासिक महत्त्वको रहेको छ । यो दिन हाम्रो सम्मानित सर्वोच्च अदालतले हजारौं सपुतहरूको बलिदान तथा लाखौ देशभक्त नेपालीको त्याग र समर्पणबाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको दिन हो,’ गौतमको विज्ञप्तिमा उल्लेख गरिएको थियो ।
विज्ञप्तिमा अगाडि लेखिएको थियो, ‘प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते गर्नुभएको प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर भएको छ । आजको दिन निरंकुशता, स्वेच्छाचारिता, अराजकता र दुराचारिताको पराजय तथा संविधान, कानून, लोकतन्त्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन हो । यस अवसरमा म सर्वप्रथम प्रधानन्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरूमा आभार प्रकट गर्दै उहाँहरूलाई हार्दिक धन्यवाद दिन्छु ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।