काठमाडौं - सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्ने भएको छ । आज बस्ने मन्त्रिपरिषद् बैठकले विप्लव नेकपामाथिको राजनीतिक प्रतिबन्ध फुकुवा गर्ने निर्णय गर्ने स्रोतले बतायो ।
ओली प्रधानमन्त्री भएलगत्तै विप्लव नेतृत्वको नेकपामाथि राजनीतिक प्रतिबन्ध लगाइएको थियो । अहिले ओली आफैं विप्लवमाथिको प्रतिबन्ध फुकुवा गर्न लागिपरेका छन् । सरकारले प्रतिबन्ध लगाएपछि विप्लव समूहका नेता भूमिगत ढंगले आफ्नो संगठन विस्तार गर्दै आएका छन् ।
ओलीले आगामी चुनावलाई मध्यनजर गर्दै विप्लवमाथिको प्रतिबन्ध फुकुवा गर्न लागेको बताइएको छ । विप्लव नेकपाको प्रतिबन्ध फुकुवा गर्ने प्रस्ताव आज बसेको राष्ट्रिय सुरक्षा परिषदको बैठकमा पेस भएको बुझिएको छ ।
प्रधानमन्त्री अध्यक्ष रहने सुरक्षा परिषदमा गृहमन्त्री, रक्षामन्त्री र प्रधानसेनापति रहने व्यवस्था छ । अहिले रक्षामन्त्रीको कार्यभार प्रधानमन्त्री केपी ओली आफैंले सम्हालेका छन् ।
सोही कारण प्रधानमन्त्री ओलीले विप्लव नेकपालाई शान्तिपूर्ण मूलधारको राजनीतिमा ल्याउन उनको पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न प्रस्ताव पेस गरेको बालुवाटार उच्च स्रोतले बतायो ।
प्रधानमन्त्री ओलीले विप्लव नेकपाका नेतासँग वार्ताका लागि खानेपानी तथा सरसफाइमन्त्री मणि थापालाई जिम्मेवारी तोकेका छन् । मन्त्री थापाले केही समयअघि सो पार्टीका नेता हेमन्तप्रकाश ओलीलाई नख्खु कारागारमा भेटेका थिए ।
यसअघि विप्लवले शनिवार विप्लवले विज्ञप्ति प्रकाशित गरी सरकारसँग वार्ता र संवादका लागि तयार रहेको बताएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।