काठमाडौं – नेपाली कांग्रेसका चर्चित युवा नेता तथा केन्द्रीय सदस्य गगनकुमार थापाले प्रतिनिधिसभा संसद पुनर्स्थापनापछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई चपलीस्थित घरमा फिर्ता पठाइने घोषणा गरेका छन् ।
बिहीबार विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले राष्ट्रपति संस्थाविरुद्ध बोल्दा राजद्रोहको मुद्दा लाग्ने भए आफूलाई पनि मुद्दा लगाउन चुनौती दिएका छन् ।
राष्ट्रपति व्यक्ति नभई संस्था भएकाले आलोचना गर्न पाइने नेता थापालले बताए । भण्डारीले राष्ट्रपति संस्थाको मर्यादा र गरिमा राख्न नसकेकाले संसद पुनर्स्थापना भएपछि उनलाई घर पठाइने चेतावनी नेता थापाले दिएका छन् ।
‘आज रामकुमारीले राष्ट्रपतिविरुद्ध बोल्यो भनेर राज्यद्रोहको मुद्दा लगाइएको छ । नेपालको राष्ट्रपति विद्यादेवी भण्डारी संस्था हो, राष्ट्रपति संस्थाको गरिमा उहाँले राख्न सक्नुभएन,’ नेता थापाले भने, ‘संसद पुनःस्थापना उहाँलाई घर फिर्ता पठाउने हो, चपलीमा उहाँको घर हो । मैले पनि बोले हिम्मत छ भने राजद्रोहको मुद्दा लगाउन तिम्रो झ्यालखाना बढाऊ । हाम्रो मुख तिम्रो आदेशले छेकिन्न, महाराजको आदेशले छेकिएन श्रीमान् तपाईंको आदेशले छेकिन्न ।’
नेता थापाले नेपालको संविधानको रक्षा गर्ने निकाय राष्ट्रपति चुकेको अवस्थामा सर्वोच्च अदालतले संविधानलाई ट्रयाकमा ल्याउने भरोसा रहेको बताएका छन् ।
‘सर्वोच्च अदालतले नारायणहिटीको सभाको गर्जन, खुलामञ्चको सभा, विराटनगरको सभा कतैको कुरा नसुन्नुस्, अदालत कसैको धम्कीमा नपरोस्, संविधानको धारा पढोस्,’ उनले भने, ‘कानूनको ४ किल्लाभित्र न्यायको हत्या नहोस्, यो कुरा मैले बोलेको होइन, बीपी कोइरालाले बोलेको कुरा सम्झेको हो ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।