आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

शेयर बजारमा अनौठो हल्ला : यसरी ९५% लगानीकर्ताको पैसा डुब्ने खतरा

शेयर बजारमा अनौठो हल्ला : यसरी ९५% लगानीकर्ताको पैसा डुब्ने खतरा

  • मिडिया डबली
  • आइतवार, माघ २५ २०७७

  • 8.4K
    SHARES

  • शेयर बजारमा अनौठो हल्ला : यसरी ९५% लगानीकर्ताको पैसा डुब्ने खतरा
    फाइल तस्वीर

    काठमाडौं – कोरोना महामारी र राजनीतिक संकटको दुष्चक्रमा फसेको अर्थतन्त्र लयमा फर्किन लामो समय कुर्नुपर्ने अनुमान चलिरहेको छ । तर यही अर्थतन्त्रको ऐना मानिने शेयर बजार लगातार उकालो लाग्दैछ ।

    बढ्दो शेयर बजारले लाखौं नेपालीको सम्पत्ति दुगुना बनाउन सघाएको ‘पारखी लगानीकर्ता’ बताउँछन् । केही विश्लेषक भने अब शेयर बजार अनियन्त्रित हुन थालेको बताउँछन् ।

    ‘सरकार र नियामक निकायले यसरी नै खुला छाडिरहने हो भने शेयर बजार स्वाभाविक स्तरभन्दा धेरै टाढा पुग्छ,’ विश्लेषक प्रकाश तिवारी भन्छन्, ‘जुन कुरा बजारका ९५ प्रतिशतभन्दा धेरै लगानीकर्ताका लागि घातक हुन सक्छ ।’

    धितोपत्र कारोबार सम्बन्धी कानूनले यसरी कुनै पनि कम्पनीको आन्तरिक सूचनाका आधारमा शेयर किनबेच गर्न नपाइने व्यवस्था गरेका छन् । धितोपत्र बोर्डले पटक–पटक सूचना निकालेर यस्तो गैरकानूनी कारोबार नगर्न आग्रह गर्दै आएको छ । तर न नियामकले यस्तो कारोबारको नियमन गरी कारबाही गर्न सकेको छ न त नियम पालना नै भएको छ ।

    मञ्जुश्री फाइनान्सको प्रतिशेयर आम्दानी ६५ रुपैयाँ आउँदैछ भन्ने हल्ला फैलिएपछि १ महिनाअघि ३२५ रुपैयाँमा पाइने यो कम्पनीको शेयरको भाउ साढे ४०० पुगेको छ । २ महिनाअघि २८० रुपैयाँ रहेको एनसीसी बैंकको शेयर नबिलसँग मर्ज हुँदैछ भन्ने हल्ला चलाएर ३७० रुपैयाँसम्म पुर्‍याइएको थियो । यो कम्पनीको भाउ घटेर ३१५ रुपैयाँमा झरिसक्यो । १७५ रुपैयाँको सिभिल बैंकको शेयरलाई हिमालयन बैंकसँग मर्जरमा जान लागेको हल्ला फिँजाएर २४० रुपैयाँसम्म पुर्‍याइएको थियो । यो पनि अहिले घट्दो प्रवृत्तिमै छ ।

    नागरिक लगानी कोषले स्टक डिलर लिएपछि त झनै सजिलो भएको छ । कुनै पनि सूत्रबाट स्टक डिलरले कुन कम्पनीको शेयर किन्दैछ भन्ने जानकारी लिने र त्यही शेयर पहिले नै आफूले किनिहाल्ने परिपाटी विकास भएको ब्रोकर र लगानीकर्ताले बताएका छन् ।

    नेपाल राष्ट्र बैंकले आफैं लगानीकर्ता भएको बैंकबाट ऋण लिन नपाइने भनेपछि बैंकका साहुजीहरुले मिलेमतो गरेजस्तै अहिले शेयर बजारमा पनि परस्परका कम्पनीको शेयर मूल्य बढाउने ‘खेल’ चलिरहेको लगानीकर्ता बताउँछन् । ‘एउटा समूह नै बनाएर कुनै कम्पनीको शेयर किन्ने र आ–आफूमै कारोबार गरेर भाउ बढाउँदै लाने गरिएको छ,’ विश्लेषक तिवारी भन्छन्, ‘यो कुरा सबैलाई थाहा छ तर नियन्त्रण गर्न कोही तयार छैन ।’

    नेपाल दूरसञ्चार कम्पनीको शेयर साढे ७०० रुपैयाँमा स्थिर भयो । त्यसलाई बढाउन केही महिनाअघि अनौठो हल्ला चलाइयो । नगद लाभांश दिँदै आएको यो कम्पनीलाई यो वर्षचाहिँ बोनस शेयर ‘दिन लगाउने’ भनेर भाउ बढाउन थालियो ।

    ‘सरकारको बहुमत स्वामित्वमा भएको कम्पनीको सञ्चालक समितिलाई शेयर बजारका खेलाडीले बोनस शेयर दिन बाध्य पार्छौं भनेर शेयरको भाउ बढाउन सकिन्छ भने यस्तो बजारमा लगानीकर्ता कति सुरक्षित होलान् ?’ तिवारी प्रश्न गर्छन् ।

    एउटा कम्पनीका प्रवद्र्धकले अर्को कम्पनीको शेयर किन्ने र त्यसपछि मर्जरका लागि छलफल गर्ने भनेर पत्र लेख्ने गरेको लगानीकर्ता बताउँछन् । यसरी भ्रम फैलाएर ठूला कम्पनीका मालिकले नै शेयर बजारबाट पैसा बटुल्न थालेका छन् । कुन कम्पनीको नाफा र प्रतिशेयर आम्दानी कति आउँदैछ भन्ने वित्तीय विवरण प्रकाशन नहुँदै धेरैजसो ठूला लगानीकर्तालाई थाहा भइसक्छ ।

    त्यसकै आडमा केही व्यक्तिले शेयर किन्दै र भाउ बढाउँदै जान्छन् । मूल्य दोब्बर भएपछि नयाँ लगानीकर्ता आकर्षित हुन्छन् । तर त्यतिञ्जेल ‘खेलाडीहरु’ले लिनुपर्ने नाफा लिइसक्छन् र आफ्नो शेयर बेचेर निस्कन्छन् । यस्तो बेला अन्तिममा लगानी गर्ने लगानीकर्ता डुब्छन् । अहिले यस्तो जोखिम बढ्दै गएको विश्लेषक बताउँछन् ।

    शेयर बजारको यो उछाललाई नियन्त्रण गर्ने मुख्य हतियार राष्ट्र बैंकसँग छ । केन्द्रीय बैंकले शेयर धितो कर्जालाई नियन्त्रण गरिदिने हो भने बजार यसरी नै बढ्ने अवस्था रहँदैन । यसअघि कोरोना महामारीमा पुँजी बजारलाई उकास्न राष्ट्र बैंक नीतिगत रुपमा लचक बनेको थियो ।

    साउन २ गते राष्ट्र बैंकले नयाँ मौद्रिक नीति जारी गरी एउटै शेयरको धितोमा पहिलेभन्दा ७–८ प्रतिशत बढी ऋण दिन बाटो खोलिदिएको थियो । बैंकमा पैसा थुप्रिएकाले ब्याजदर पनि सस्तिँदै गयो । चालू वर्ष अधिकांश क्षेत्रमा बैंकको ऋण खासै बढ्न नसकेका बेला शेयरको धितोमा ऋण लगानी बढेको छ । मंसिर मसान्तसम्मको तथ्यांकअनुसार शेयरको धितोमा दिइने मार्जिन कर्जामा बैंकको लगानी पोहोरभन्दा झण्डै ३५ प्रतिशत बढेको राष्ट्र बैंकले बताएको छ ।

    यसरी बैंक तथा वित्तीय संस्थाले शेयरमा लगानी केन्द्रित गरेपछि शेयर बजार त बढेको छ । तर वित्तीय स्थायित्व जोखिमपूर्ण हुँदै गएको बैंकर बताउँछन् । २०६५ सालअघि घरजग्गामा लगानी गरेजस्तै अहिले कतिपय फाइनान्स कम्पनीले शेयरमै मात्र धेरै लगानी गर्न थालेका छन् ।

    ठूला र वित्तीय संस्था बलियो भनिएका बैंक पनि शेयरमा लगानी गरेर पैसा कमाउने हुलमा मिसिन थालेका छन् । यसले जान–अञ्जानमा लगानी गर्ने सोझासिधा लगानीकर्ताको सम्पत्ति अझै बढी जोखिममा धकेलिरहेको विश्लेषक बताउँछन् ।

    ७ महिनाअघि नयाँ मौद्रिक नीति घोषणा गर्दा नेप्से सूचकांक १३८६ अंकमा थियो । त्यही सूचक २४७५ अंकमा पुगेको छ । यो नेप्सेको हालसम्मकै उच्चतम विन्दु हो । यसबीच कतिपय कम्पनीको शेयर मूल्य तेब्बर र धेरैको दोब्बर हाराहारी बढेको छ । यस्तो बेला राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधि समीक्षामार्फत शेयर धितो कर्जालाई कडाइ गर्ने सम्भावना बढी छ ।

    यसअघि पनि शेयर बजार कीर्तिमानी उचाइमा पुग्न थालेपछि शेयर कर्जामा धितो मूल्यांकनको ५० प्रतिशत मात्रै ऋण दिन सकिने सुविधा थियो । बजार घट्दै गएपछि जोखिम कम भएको भनेर राष्ट्र बैंकले कर्जा नीतिलाई खुकुलो बनाउँदै लगेको थियो ।

    पानीमा फोका उठे जसरी शेयर बजार बढ्न थाल्यो भने यसले समग्र वित्तीय स्थायित्वमै असर गर्न सक्ने राष्ट्र बैंकका अधिकारी बताउँछन् । जग्गाको मूल्य कहिल्यै नघटेका कारण बैंकहरु जस्तोसुकै संकटमा पनि बचेका छन् । तर अहिले जसरी शेयरमा ऋण बढाइएको छ, यो गतिमा रोक नलगाउने हो भने बैंक तथा वित्तीय संस्था धरासायी हुन सक्ने उनीहरु बताउँछन् । किनकि घरजग्गाजस्तो शेयर बजार सधैं महंगिने सम्भावना रहँदैन । 

    शेयरको सट्टेबाजीमा मात्रै बैंकले धेरै ऋण दिँदा उत्पादनमूलक र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी जान पाउँदैन । परिणामतः आर्थिक वृद्धिमा नकारात्मक प्रभाव पार्छ । केही कम्पनीको शेयर मूल्य बढ्नुले अर्थतन्त्रको आकार बढ्दैन । एकातिर वित्तीय स्थायित्वमा संकट आउन सक्ने, अर्कातिर आर्थिक वृद्धिमा अवरोध गर्ने भएकाले शेयर बजारलाई अनियन्त्रित गतिमा बढ्ने सुविधा राष्ट्र बैंकले नदिने अधिकारीहरू बताउँछन् ।

    सम्भवतः फागुन पहिलो हप्ता आउन सक्ने मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत राष्ट्र बैंकले नीतिगत कडाइ गरिदियो भने अहिलेको शेयर बजार ओरालो लाग्न थाल्छ । यसबाट धेरैजसो लगानीकर्ताले आफ्नो सम्पत्ति गुमाउने जोखिम रहेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष २८ २०८१०३:५३:३४

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend