काठमाडौं – नेकपाको पूर्ण बहुमतको सरकार हुँदाहुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गृहयुद्धतर्फ धकेलेका नेकपा प्रचण्ड–नेपाल पक्षका नेता योगेश भट्टराईले उद्घोष गरेका छन् ।
प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा प्रचण्ड–नेपाल पक्षले धादिङको धादिङबेंसीमा शुक्रवार आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता भट्टराईले ओलीले भिडन्त र युद्ध चाहेको र त्यही इच्छा पूरा गर्नका लागि संविधान मिचेर संसद विघटन गरेको आरोप लगाएका छन् ।
‘हामी शान्ति चाहन्छौं, ओली र तिनका आसेपासे मण्डलेहरू युद्ध र अशान्ति चाहन्छन्, त्यत्रो जनयुद्धलाई समेत शान्तिपूर्ण तरिकाले समापन गरेर अग्रगामी दिशातर्फ हिँडाइरहेको देशलाई गृहयुद्धमा धकेल्न प्रधानमन्त्री उद्यत हुनुभयो,’ नेता भट्टराईले भने ।
संविधानका कुनै पनि धारा उपधारा र दफाले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिएको भट्टराईले दाबी गरे । ‘यो कसैको हुकुमी बक्सिसबाट बनाएको संविधान होइन, जनताको रगत र पसिनासँग साटेर बनाएको संविधान हो, कोही कसैलाई सनक चढेकै भरमा संविधान च्यात्न पाइँदैन,’ भट्टराईले भने ।
जनताको सर्वोच्च थलो प्रतिनिधि सभामाथि यत्रो आक्रमण हुँदा पनि कांग्रेसले देखाएको दुईधारे चरित्रप्रति कटाक्ष गर्दै भट्टराईले नेकपा फुटेको बेला चुनाव भएदेखि जितौंला भन्ने सपना नदेख्न आग्रह गरेका छन् । नेता भट्टराईले ओली नै चुनाव नगराउने पक्षमा रहेकाले ललिपपमा फस्न भट्टराईले कांग्रेसलाई सचेत गराएका छन् ।
गाउँगाउँबाट भेला भएका नेकपा नेता, कार्यकर्ताको सहभागितामा सभाअघि नेता भट्टराईको नेतृत्वमा धादिङबेंसी पुछारबजारबाट विरोध र्याली भएको थियो । विभिन्न ठाउँ परिक्रममा गरी र्याली बीचबजार पुगेर सभामा परिणत भएको थियो ।
सभामा बागमती प्रदेशको मन्त्रीमण्डलबाट राजीनामा दिएका शालिकराम जम्कटेल, पूर्व मन्त्री राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, नेता गुरुप्रसाद बुर्लाकोटी, पुष्पविक्रम मल्ल, कल्पना धमला लगायतको उपस्थिति रहेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।