काठमाडौं - प्रधानमन्त्री केपी ओलीले संवैधानिक अंगका पदाधिकारीलाई संविधानविपरीत नियुक्त गरी हतार हतारमा सपथ खुवाएको विरोधमा नेकपा (प्रचण्ड–माधव नेपाल समूह) ले बिहीबार देशव्यापी आमहडतालको आयोजना गरेको छ ।
नेपाल बन्दको देशभर आंशिक प्रभाव भने परेको देखिएको छ । सरकारले बन्द असफल तुल्याउन राज्य संयन्त्र सबै प्रयोग गर्दा पनि सकेको छैन । बन्दकर्ता सडकमा नाराबाजी र विरोध प्रदर्शन गरिरहेका छन् ।
तर, सबैभन्दा आश्चर्यलाग्दो घटना भने बन्द गराउन भन्दै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आफैं सडकमा आइपुग्नु भनेको चानचुने विषय होइन ।
विगतका राजनीतिक दलका बन्दमा शीर्ष नेताहरु सडकमा आउँदैनथे । बन्द आयोजना घोषणा गरेपछि उनीहरु घरमै बस्थे । तर, अहिले प्रचण्ड आफैंले घोषणा गरेको बन्दमा पजेरो चढेर पुल्चोक र कोटेश्वर पुगे ।
अर्का नेता माधवकुमार नेपाल कहीँ स्कुटर त कहीँ हिँडेर बन्द गराउन पुगे । माधव नेपाल तिनै नेता हुन् जो एमाले शासनकालमा प्रधानमन्त्री हुँदा माओवादीले आयोजना गरेको नेपाल बन्दलाई असफल पारिदिएका थिए ।
त्यसबेला प्रचण्ड नेतृत्वको माओवादीले अनिश्चितकालीन नेपाल बन्द आयोजना गरेको थियो । तर, तत्कालीन प्रधानमन्त्री नेपालले बन्दलाई अवज्ञा पारिदिएपछि ६ दिनमै माओवादीले बन्द खुलाएको थियो ।
अहिले तिनै माधवकुमार नेपाल प्रचण्डसँगै मिलेर नेपाल बन्द गराउँदै हिँडेका छन् । जसलाई सामान्य लिन नमिल्ने नेताहरु बताउँछन् । किनभने प्रचण्डले फागुन पहिलो साता जनआन्दोलन घोषणा गर्नुले आगामी दिन नेपालका लागि निकै ठुलो कष्टपूर्ण हुने देखिन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।