काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा संसद विघटन गरेपछि नेपाली राजनीति विभाजित भएको छ ।
प्रधानमन्त्रीविरुद्ध देशभर आन्दोलन भइरहेका बेला ओलीले भने पशुपतिनाथ मन्दिरको दर्शन, राम जन्मभूमिको चर्चा र पूजापाठका गतिविधि बढाएका छन् । यस्तो बेला सरकारले कतै हिन्दूराष्ट्र पुनःस्थापना गर्न खोजेको हो कि भन्ने चर्चा समेत भइरहेको छ ।
प्रधानमन्त्री ओलीका विश्वासपात्र गोकुल बाँस्कोटाले आईतबार मध्यराति साढे ११ बजेपछि ट्वीट गर्दै गणतन्त्रवादीहरूलाई दनक दिएका छन् ।
उनले लेखेका छन्, ‘उद्घाटनमा बत्ती नबाल, रिवन नकाट, शिलान्यासमा दियो नजलाउ, दशैंमा आशिर्वाद नलिय, न्हुदयाँभिन्तुना छुँ मतलब मठ, मन्दिर, चैत्य र गुम्बा नजाऊ, रमजानमा जलेवी नबाड, लोसारमा स्याब्रु नाच र डम्फु बजाएर ननाच, माघीमा घ्युचाकु नखाउ यत्ति भएपछि तिमी खास गणतन्त्रवादी भयौ हैन त ?’
कतिपय गणतन्त्रवादीले ओलीको पूजापाठ र धार्मिक आस्थाको विरोध गरेपछि बाँस्कोटाले जवाफ फर्काएका हुन् ।
यसअघि आईतबार ट्वीट गर्दै नेता बाँस्कोटाले हिन्दूराष्ट्र घोषणाको चर्चाबारे पनि प्रतिक्रिया दिएका छन् । उनले लेखेका छन्, ‘उहाँहरूको आरोप छ – ओली हिन्दूतन्त्र ल्याउन र गणतन्त्र मास्न चाहन्छन् । तर उहाँहरूको काम चै निरन्तर गणतन्त्रको प्रतिक राष्ट्रपतिमाथि हमला । अब आफैं भन्नुस् गणतन्त्र ध्वस्त पार्न को चाहन्छ ? पूर्व ताकेर पश्चिम पड्काउने पुरानो तरिका अब त सबैले बुझ्या छैनन् र भन्या ?’
नेकपा प्रचण्ड–नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेले ओली पक्षले माघ २३ गते काठमाडौंमा गर्ने सभामा हिन्दूराष्ट्र घोषणा हुनसक्ने अभिव्यक्ति दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।