काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय मुख्यमन्त्री शेरधन राईविरुद्ध १ नम्बर प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव आगामी माघ २५ गतेको बैठकमा अगाडि बढ्ने भएको छ ।
प्रदेशसभा सचिवालयले आईतवार सूचना जारी गर्दै माघ २५ गते दिउँसो २ बजे बैठक बस्ने जानकारी दिएको छ ।
यसअघि बैठक माघ ७ गते सुरू भएर अनिश्चितकालको लागि स्थगित भएको थियो । मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्तापछि मुख्यमन्त्रीलाई नेकपाका बहुमत सांसदले दलको नेताबाट हटाएका र मुख्यमन्त्रीले अविश्वास प्रस्ताव दर्ता गर्ने १६ जना सांसदलाई निलम्बन गरेको अवस्थामा प्रदेशसभा बैठक आह्वान भएको प्रदेश प्रमुखको पत्र सभामुखले पढेर सुनाएपछि बैठक एकैछिनमा स्थगित भएको थियो ।
स्थगित बैठक सभामुखले माघ २५ गतेको लागि आह्वान गरेका प्रदेशसभा सचिव गोपाल पराजुलीले बताए । अविश्वास प्रस्ताव दर्ता भएको अवस्थामा प्रदेश सभाको बैठक लामो समय स्थगित भएको भन्दै प्रस्ताव दर्ता गर्ने सांसदहरूले तत्काल बैठक सुरू गर्न माग गरेका थिए ।
प्रदेश सभाको अबको बैठकमा मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव अगाडि बढ्ने कार्यसूची तय गरिएको छ । यद्यपि मुख्यमन्त्री राई पक्षले प्रस्ताव प्रक्रियामा लैजान नहुने दबाब सभामुखलाई दिएको छ ।
आफूले कारवाही निलम्बन गरेका सांसदलाई प्रदेश सभामा प्रवेश नदिने र सभामुखले प्रवेश गराएमा बैठक अवरुद्ध गर्ने नेकपा संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए ।
प्रमुख सचेतक राजभण्डारीलाई नेकपाको संसदीय दलको बहुमत पक्षले प्रमुख सचेतबाट हटाइसकेको छ भने मुख्यमन्त्री राईलाई दलको नेताबाट हटाएर भीम आचार्यलाई नेता चुनिएको छ । बहुमत पक्षले पनि मुख्यमन्त्री राईसहित ८ सांसदलाई निलम्बन गर्ने निर्णय गरेको छ ।
प्रदेश सभामा सरकारले कुनै पनि विधेयक दर्ता नगरेकाले बैठकको लागि अविश्वास प्रस्तावबाहेक अरु कुनै कार्यसूची रहेका छैनन् ।
यस्तो छ प्रदेश सभाको सूचना –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।