काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रोल्पामा २५ प्रतिशत काम सकिएको पुलको सिलान्यास गरेर नाटक गरेका छन् ।
काम सुरू हुनुअघि नै सिलान्यास हुने प्रचलन रहेपनि मुख्यमन्त्री पोखरेलले नेकपा विभाजित भएको बेला विकासको श्रेय लिन काम सुरू भइसकेको पुल सिलान्यास गरेका हुन् ।
नेकपा ओली पक्षको जिल्ला भेलाका लागि रोल्पाको लिबाङ पुगेका मुख्यमन्त्री पोखरेलले लिबाङनजिकै रहेको धाङ्सी खोलाको २५ प्रतिशतभन्दा बढी काम सम्पन्न भएर भुक्तानी समेत लिएको पुलको शनिवार सिलान्यास गरेका छन् ।
करीब १ घण्टा पुल सिलान्यासमा बिताएका मुख्यमन्त्री पोखरेलले दिनभर ओली पक्षका स्थानीय नेता कार्यकर्तालाई प्रशिक्षण दिनमा समय खर्चिएका थिए ।
मुख्यमन्त्री पोखरेलले निर्माण सम्पन्न भइसकेको पुलको पिल्लरमा बसेर पूजापाठसहित पुलको सिलान्यास गरेका छन् । प्रदेशका भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरी र मुख्यमन्त्री पोखरेलकी पत्नी तथा विघटित प्रतिनिधिसभा सदस्य सुजिता शाक्यले सिलान्यासमा सघाएकी छन् ।
६० मिटर लम्बाई रहेको पुलका ३ पिल्लरमध्ये २ पिल्लर सम्पन्न भइसकेका छन् । त्यही पिल्लरमा बसेर मुख्यमन्त्री पोखरेलले पुलको सिलान्यास गरेका छन् ।
‘गर्नुपर्ने समयमा सिलान्यास नगरेर के गर्न खोजेको हो ?’ निर्माण व्यवसायी संघ रोल्पाका अध्यक्ष मानबहादुर खत्रीले भने, ‘गर्नुपर्ने बेलामा कसैले वास्ता नगर्ने, आधा बन्न लागेपछि सबैले आँखा लगाउनु काम राम्रो भएन ।’ मुख्यमन्त्री पोखरेलको काम देखेर सबैले आश्चर्य व्यक्त गरेका छन् ।
जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाले उद्घाटन गर्ने समयमा सिलान्यास गर्नु राम्रो नभएको टिप्पणी गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले भने आलोचना मात्र गर्ने प्रवृत्ति राजनीतिमा मौलाएको चर्चा गर्दै हरेक योजनामा सिलान्यासपछि मात्रै जनताले चासो राख्ने गरेका दाबी गरे । ‘सिलान्यास नहुँदासम्म पुलको बारेमा कसैलाई चासै थिएन होला,’ उनले भने, ‘आज हामीले सिलान्यास गर्यौं, अब यसको गुणस्तरीयता र समयमै काम सम्पन्न गर्नका लागि यहाँको जनताले चासो राख्नेछन्, सिलान्यासको महत्त्व यहाँनेर छ ।’
मुख्यमन्त्री पोखरेलले शनिवार सिलान्यास गरेको पक्की पुलको निर्माण कम्पनी एसियाटिक राज जेभीले ५ करोड ६१ लाख ४९ हजार ५४९ रुपैयाँमा २०७९ असोज २४ गते निर्माण सम्पन्न गरिसक्ने गरी ठेक्का लिएको छ । ‘२ खण्डमा निर्माण हुने पुलको २ वटा पिल्लर पूरा भएर पनि तेस्रो पिल्लरको काम भइरहेको छ, २५ प्रतिशत काम भएपछि हामीले केही रकम भुक्तानी पनि लिइसकेका छौं,’ निर्माण कम्पनीका स्थानीय प्रतिनिधि राजवीर घर्तीले भने, ‘हामी निर्माण व्यवसायी हौं, सम्झौता अनुसार काम गर्ने र भुक्तानी लिने हो, सम्झौताअगावै काम सक्ने योजना छ ।’
पुल निर्माणका लागि सडक पूर्वाधार आयोजना कार्यालय रोल्पा र एसियाटिक राज जेभीबीच गत असोजमा सम्झौता भएर पुल निर्माण कार्य जारी रहेको पूर्वाधार कार्यालयका प्रमुख नवीनकुमार श्रेष्ठले बताएका छन् । जिल्ला सदरमुकाम लिबाङबाट धाङ्सी हुँदै मिरुल–थबाङ जोड्ने सडकको खोलामा पुल निर्माणका लागि स्थानीयले लामो समयदेखि माग गर्दै आएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।