काठमाडौं – गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ले सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपदस्त गर्ने षड्यन्त्र गरिएपछि संसद विघटनको बाध्यात्मक र साहसिक कदम चाल्नुपरेको पर्दाफास गरेका छन् ।
गृहजिल्ला चितवनमा शनिबार नेकपा ओली पक्षले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले संसदको दुरूपयोग गरेर देशमा अस्थिरता उत्पन्न गर्ने षड्यन्त्रलाई परास्त गरेको दाबी गरे ।
‘उनीहरू (प्रचण्ड–नेपाल) ले प्रधानमन्त्रीलाई अपदस्त गर्ने षड्यन्त्र गरे, उनीहरूको षड्यन्त्र असफल पार्न सरकार र पार्टीले संसद विघटनको ऐतिहासिक कदम उठायो । संसदको दुरुपयोग गरेर सरकारको नेतृत्व अपदस्त गर्ने र देशमा अस्थिरता पैदा गर्न चाहन्थे,’ उनले भने, ‘त्यो रोक्न बाध्यात्मक र साहसिक कदमको रूपमा संसद विघटन गरिएको हो ।’
प्रतिनिधिसभा विघटनलाई जनताले अनुमोदन गरेको र देश निर्वाचनमा होमिएको मन्त्री थापाले दाबी गरेका छन् । मन्त्री थापाले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमलाई जनताले अनुमोदन गरेको दाबी गरे ।
संविधानको निर्माता र व्याख्याता जनता नै भएको दाबी गर्दै उनले संसद विघटनलाई जनताले अनुमोदन गरेको बताए ।
‘सरकारको संसद विघटनको कदम संवैधानिक वा असंवैधानिक भन्ने प्रश्नलाई आजको सभाले जवाफ दिएको छ, सही छ भन्ने जवाफ दिएको छ,’ उनले भने ।
‘विराटनगरमा अवसरवादीहरू (प्रचण्ड) ले प्रतिनिधि सभाको बैठक राखेर प्रधानमन्त्रीलाई निष्कासन गर्ने भन्ने घोषणा गरेका छन्, उनीहरूले पार्टी अध्यक्षलाई कथित केन्द्रीय समितिको बैठक राखेको घोषणा गरेको सुनेका छौं । संसदीय दलको नेता र प्रधानमन्त्रीबाट हटाउने भन्ने घोषणा गरेका छन्,’ उनले भने, ‘यो कुराले के स्पष्ट गर्छ भने उनीहरू यो देशमा अस्थिरता सिर्जना गरेर प्रतिगमनलाई पुनर्स्थापना गर्न चाहन्छन्, उनीहरूको कुराले यो कुरालाई व्यक्त गर्छ । जनसभाले आज उनीहरू अस्थिरतामा लैजान चाहन्छन् भन्ने कुराको पनि जवाफ दिएको छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।