काठमाडौं – निर्वाचन आयोगले बैशाख १७ र २७ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गर्ने तयारी गरेको छ ।
निर्वाचनसँग सम्बन्धित काम अघि नबढाए तोकिएको समयमा निर्वाचन गर्न असहज हुने निष्कर्षसहित निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि दल दर्ताको आह्वान गर्ने तयारी गरेको हो ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न आयोगले निर्वाचनका लागि आवश्यक पर्ने काम अघि बढाउनुपर्ने भएकाले आयोगले दल दर्ताको आह्वान गर्दै सूचना प्रकाशन गर्ने तयारी गरेको जानकारी दिए ।
‘निर्वाचनमा भाग लिन चाहने दलहरूले निर्वाचन प्रयोजनका लागि आयोगमा दल दर्ता गर्नुपर्छ । तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न पनि आयोगले अब दल दर्ता लगायतका काम अघि बढाउनुपर्छ । दल दर्ता गर्न आयोगले आह्वान गर्दै सूचना प्रकाशन गर्ने तयारी गर्दैछ,’ आयोगका प्रवक्ता श्रेष्ठले भने ।
आयोगले हाल आचारसंहिताको मस्यौदासमेत बनाइरहेको छ । अर्थ मन्त्रालयसँग निर्वाचनका लागि बजेट माग गर्न आयोग तयारी अवस्थामा पुगेको छ ।
निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने सामग्रीको व्यवस्थापनको काममा समेत आयोग अघि बढिरहेको छ भने आयोगले बिहीवारबाट देशभरका स्थानीय तहका केन्द्रमा मतदाता नामावलीमा भएको त्रुटि सच्याउन भन्दै मतदाता नामावली अद्यावधिक गर्ने काम सुरू गरेको छ ।
आयोगले हाल मतदान केन्द्र र मतदान स्थल पुनरावलोकन गर्ने लगायतका काम गरिरहेको छ । आयोगले करीब ९ लाख नयाँ मतदाता बढ्दै गर्दा विगतको निर्वाचनभन्दा करीब १ हजार २०० को संख्यामा मतदान केन्द्र समेत थप गर्ने तयारी गरेको छ ।
आयोगले यसबीचमा निर्वाचनका सन्दर्भमा राजनीतिक दलहरूसँग समेत छलफललाई निरन्तरता दिने बताउँदै आएको छ ।
आयोगका प्रवक्ता श्रेष्ठले संघीय संसद्मा प्रतिनिधित्व गरेका, प्रदेश सभामा प्रतिनिधित्व गरेका र स्थानीय तहमा समेत गरी कहीँ न कहीँ प्रतिनिधित्व गरेका दललाई आयोगले निर्वाचन केन्द्रित छलफलमा बोलाउने बताए ।
यसअघि समेत आयोगले नेकपा, नेपाली कांग्रेस लगायतका दललाई मतदान केन्द्र पुनरावलोकनको काममा सघाउन भन्दै आयोगमा बोलाएको थियो ।
आयोगले शुक्रवार मात्रै पनि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दल दर्तासहित निर्वाचन तयारीबारे छलफल गर्न आयोगमा बोलाएको थियो ।
तर नेकपाका अध्यक्ष प्रचण्ड पक्षले भने व्यस्तताको कारण देखाउँदै माघ १८ गतेपछि मात्रै छलफल गर्न सकिने भन्दै आयोगलाई पत्र नै पठाएको छ । नेकपाका अर्का अध्यक्ष ओली पक्षका नेताहरु भने शुक्रवार आयोगमा पुगी निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गर्दै फर्किएका छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।