आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

छिमेकसँगका यी ३० सीमा नाका खुला, अब नेपालीलाई निर्बाध आवागमन

छिमेकसँगका यी ३० सीमा नाका खुला, अब नेपालीलाई निर्बाध आवागमन

  • मिडिया डबली
  • शुक्रवार, माघ १६ २०७७

  • 5.0K
    SHARES

  • छिमेकसँगका यी ३० सीमा नाका खुला, अब नेपालीलाई निर्बाध आवागमन

    काठमाडौं – कोरोना संक्रमणका कारण लकडाउनसँगै बन्द गरिएका चीन र भारततर्फका ३० वटा नाकालाई  खुला गर्ने निर्णय सरकारले गरेको छ ।

    गृह मन्त्रालयले मन्त्रिपरिषद् निर्णयका आधारमा बिहीवार जिल्ला प्रशासन कार्यालयलाई नाका खुलाउन सर्कुलर पठाएको हो ।

    यसअघि १४ नाका खोलिएकामा माघ ११ को मन्त्रिपरिषद्ले थप १६ नाका खुलाउने निर्णय लिएको हो । भारततर्फका धेरै नाका बन्द हुँदा सीमाका नेपालीले घरायसी सामान खरिद, नातागोता भेटघाट र खेतीपातीका लागि समेत सहजै ओहोरदोहोर गर्न पाएका थिएनन् ।

    गत चैत १० गतेदेखि नेपाल–भारत सीमा नाका सिल गरिएकामा भारततर्फका १३ र चीनतर्फको १ नाका गत साउन २६ गते खुला गरिएको थियो । भारततर्फ १ हजार ८८० किलोमिटर सीमामध्ये तराई–मधेसका १० र हिमाली–पहाडी क्षेत्रका ३ तथा चीनतर्फ रसुवागढी–केरुङ नाकाबाट आउजाउ अनुमति दिइएको थियो ।

    सीमा नाका निर्बाध खुलाउने वा आउजाउका निम्ति निश्चित नाका तोक्ने भन्नेमा गृह, परराष्ट्र, अर्थ र स्वास्थ्य मन्त्रालयका अधिकारीबीच लामो छलफल र समिक्षा भएको थियो ।

    गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेको नेतृत्वमा यससम्बन्धी छलफल र समीक्षापछि थप १६ नाका खुलाउने प्रस्ताव गृहमन्त्री रामबहादुर थापाले मन्त्रिपरिषदमा पेश गरेका थिए । पछिल्लोपटक खोलिएका नाकाबाट नेपालीले भारतीय बजार पुगी तोकिएको मापदण्डभित्र रहेर घरायसी सामान खरिद गर्न पाउने भएका छन् ।

    गृह मन्त्रालयका अनुसार खजुरगाछी (झापा), भन्टाबारी (सुनसरी), कुनौली (सप्तरी), जटही (धनुषा), इनर्वा (धनुषा), भिट्टामोड (महोत्तरी), मलंगवा (सर्लाही), बंकुल (रौतहट), मटिअर्वा (बारा), सिम्रौनगढ (बारा), त्रिवेणी (पूर्वी नवलपरासी), महेशपुर (पश्चिम नवलपरासी), तौलिहवा (कपिलवस्तु), कोइलाबास (दाङ), सुरजपुर (बर्दिया) र तातोपानी (सिन्धुपाल्चोक) नाका खुला गरिएको हो ।

    यसअघि पशुपतिनगर (इलाम), काँकडभिट्टा (झापा), रानी (मोरङ), माडर (सिरहा), गौर (रौतहट), वीरगन्ज (पर्सा), रसुवागढी (रसुवा), कृष्णनगर (कपिलवस्तु), बेलहिया (रूपन्देही), जमुनाह (बाँके), गौरीफन्टा (कैलाली), गड्डाचौकी (कञ्चनपुर), खलंगारपुलाघाट (दार्चुला) र झुलाघाट (बैतडी) बाट मात्रै सर्वसाधारणले सहज आवागमन गर्न पाउँथे ।

    गृहले खुला गरिएका सबै नाकाबाट हुने आवागमनको जनस्वास्थ्यसहित अभिलेख राख्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले यी नाका हुँदै नेपालीले निर्बाध र विदेशीले निश्चित शर्त र बन्देज पालना गरेर आवागमन गर्न पाउने छन् ।

    भारततर्फका नाकाबाट भारतीय नागरिक मात्रै र चीनतर्फका नाकाबाट चीनका नागरिक मात्रै आउन पाउने छन् । भारत र चीनबाहेक देशका नागरिक हवाई मार्गबाट मात्रै आउन पाउने छन् ।

    विदेशीको हकमा भिसा अवधि र कोभिड परीक्षणको ३ दिनभित्रको नेगेटिभ रिपोर्ट भएका, नेपालमा कार्यरत भएको कागजात खुल्ने, कूटनीतिक नियोग र नेपाल सरकारले अनुमति दिएका विदेशीलाई मात्रै स्थलमार्गबाट प्रवेश अनुमति दिइने प्रवक्ता बुढाले बताएका छन् ।

    भारतीय नागरिकका हकमा राहदानी आवश्यक नपरे पनि स्वास्थ्य मापदण्ड र यसअघि भारतसँग सीमा जोडिएका तराई–मधेसका १० र पहाडका ४ जिल्लाका १४ वटा नाकाबाट मात्रै आवागमन खुला गरिएको थियो । बन्द नाका पहिलेकै स्वरूपमा निर्बाध खुलाउनुपर्ने दबाबपछि सरकारले नाकाबाट हुने आवागमन, त्यसको औचित्य, आवश्यकता, आर्थिक कारोबार लगायत आधारमा नयाँ निर्णय लिएको छ ।

    कोरोना महामारीको त्रास कम भएसँगै सबै नाका खुलाउनुपर्ने दबाबमा सरकार छ । तर महामारीका बेला र त्यसपछिको अवस्थामा कस्ता रणनीति अपनाउने भन्नेमा सरकारले ठोस निर्णय लिन सकेको छैन । नाका नखुलेकै कारण चोरबाटो र आर्थिक सेटिङमा आवागमन हुने गरेको आरोप प्रशासन र प्रहरीमाथि लाग्दै आएको थियो ।

    गृह मन्त्रालयका प्रवक्ता बुढा महामारीसँगै बदलिएको जीवनयापन, सीमा सुरक्षा रणनीति तथा जनस्वास्थ्यसम्बन्धी जोखिम लगायतलाई मध्यनजर गरेर बाँकी नाका खुलाउने र व्यवस्थित गर्दै जाने बताउँछन् । ‘गृहलाई सुरक्षा तथा सीमा अपराध नियन्त्रण, अर्थलाई राजस्व संकलन तथा स्वास्थ्य मन्त्रालयलाई जनस्वास्थ्यको चिन्ता छ, यी सबै पक्षलाई मध्यनजर गरेर सीमा सिललाई निरन्तरता दिने वा शर्तसहित खुलाउने भन्ने विस्तृत छलफल र समीक्षापछि थप १६ नाकाबाट आवागमन खुलाइएको हो,’ बुढाले भने, ‘एकैचोटि सबै नाका खुल्ने अवस्था छैन । औचित्य र आवश्यकताका आधारमा निर्णय हेरफेर हुँदै जान्छ ।’

    नाका खोल्न माग गर्दै सीमावर्ती भेगका नागरिक चरणबद्ध आन्दोलनमा छन् । सीमा हुँदै सहज आवागमन गर्न नपाउँदा दुबै देशका नागरिकले करिब ३ दर्जन स्थानमा सुरक्षाकर्मीमाथि दुर्व्यवहार गरेका थिए । त्यसबाट पनि माग सम्बोधन नभएपछि उद्योगीरव्यवसायी, स्थानीय र क्रियाशील राजनीतिक दलका स्थानीय नेता–कार्यकर्ता लगायतले नाका पुरानै अवस्थामा खुलाउनुपर्ने मागसहित विरोध प्रदर्शन जारी राख्नुका साथै केही जिल्लाबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पनि बुझाएका थिए ।

    भारतसँग नेपालको करीब १ हजार ८८० किलोमिटर लामो खुला सिमाना रहेकामा प्रदेश ६ बाहेक सबैले भारतसँग सीमा छुन्छ । अहिले तराई–मधेसका १० नाकाबाट मात्रै नेपाली नागरिक आउजाउ गर्न पाउँछन् । भारतीयसहित विदेशी नागरिकको हकमा भने स्थानीय प्रशासनको अनुमतिमा प्रवेश दिने गरिएको छ ।

    नेपालमा रोजगारी भएका, सरकारी, विदेशी नियोगका कर्मचारी तथा सरकारले अनुमति दिएका बाहेकका विदेशीले स्थलमार्गबाट प्रवेश पाउँदैनन् । सिल गरिएका नाका तथा चेकप्वाइन्टमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरेर आवागमन निषेध गरिएको छ । भारतसँग प्रदेश २ का आठवटै जिल्ला जोडिन्छन् । तर आउजाउ गर्न भने सिरहाको माडर, रौतहटको गौर र पर्साको वीरगञ्ज मात्रै खुला गरिएको थियो । पछिल्लो निर्णयले कम्तीमा एक जिल्ला एक नाका खुलाको अवधारणा लिइएको छ ।

    दुबै देशतर्फ नातागोता, परिवार, खेतीपातीलगायत कारण सीमा क्षेत्रका वासिन्दाले आउजाउ सहज बनाउन माग गरिरहेका छन् । नाका बन्द भएकै कारण सीमावर्ती इलाकामा खोलिएका होटल–रेस्टुरेन्ट लगायतमा भारतीय नागरिक आउन पाउँदैनन् ।

    सीमा क्षेत्रका नागरिक कोरोना महामारीअघि भारतीय बजारमा पुगेर सस्तोमा दैनिक उपभोग्य वस्तु किन्ने गर्थे । तर नाका सिल भएपछि त्यो सुविधा रोकिएको छ । नाका बन्द हुँदा सुरक्षाकर्मी, प्रशासन तथा तस्करसँगको सेटिङमा आउजाउ हुने गरेको आरोप पनि छ तर यसमा पनि प्रभावकारी नियमन हुन सकेको छैन । सशस्त्र प्रहरी प्रवक्ता डीआईजी राजु अर्यालले तोकिएका नाका बाहेकबाट मानिस आवागमन गर्न नदिइएको बताएका छन् । 

    ‘सरकारबाट निर्णय भएबमोजिम तोकिएका नाकाबाहेकका स्थानबाट आवागमन रोकिएको छ,’ अर्यालले भने, ‘सिल भएका नाका कहिले खुल्छन् वा यसैलाई निरन्तरता दिने भन्ने विषय निर्णय गर्ने तहबाटै बुझ्नुपर्छ ।’ अर्यालले कोरोना महामारीपछि सीमा सिल गर्न खटिएका सशस्त्रका जनशक्ति अहिले पनि चौबीसै घण्टा ड्युटीमा रहेको बताएका छन् ।

    पशुपतिनगर (इलाम), काँकडभिट्टा (झापा), रानी (मोरङ), माडर (सिरहा), गौर (रौतहट), वीरगन्ज (पर्सा), रसुवागढी (रसुवा), कृष्णनगर (कपिलवस्तु), बेलहिया (रुपन्देही), जमुनाह (बाँके), गौरीफन्टा (कैलाली), गड्डाचौकी (कञ्चनपुर), खलंगारपुलाघाट (दार्चुला), झुलाघाट (बैतडी), खजुरगाछी (झापा), भन्टाबारी (सुनसरी), कुनौली (सप्तरी), जटही (धनुषा), इनर्वा (धनुषा), भिट्टामोड (महोत्तरी), मलंगवा (सर्लाही), बंकुल (रौतहट), मटिअर्वा (बारा), सिम्रौनगढ (बारा), त्रिवेणी (पूर्वी नवलपरासी), महेशपुर (पश्चिम नवलपरासी), तौलिहवा (कपिलवस्तु), कोइलाबास (दाङ), सुरजपुर (बर्दिया) र तातोपानी (सिन्धुपाल्चोक) खुला भएका छन् । आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन १६ २०७७०५:१३:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend