सोमवार, भाद्र २९ २०८३Sep 14 2026

Logo
images images

बामदेव गौतमको ‘भित्री मनको कुरा’ के हो ? १३ वर्षदेखिको मेहनत खेर गयो !

बामदेव गौतमको ‘भित्री मनको कुरा’ के हो ? १३ वर्षदेखिको मेहनत खेर गयो !

  • मिडिया डबली
  • बिहिवार, माघ १५ २०७७

  • 4.1K
    SHARES

  • बामदेव गौतमको ‘भित्री मनको कुरा’ के हो ? १३ वर्षदेखिको मेहनत खेर गयो !

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनमा कतै नलागेका नेता बामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका छन् ।

    गौतमले २ समूहमा बाँडिएका केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘मिलाउने’ तागत आफूसँग रहेको दाबी गरेका छन् ।

    १३ वर्षदेखि पार्टी एकताका लागि आफूले पहल गरे पनि विभाजन हुन ३ वर्ष पनि नलागेको भन्दै उनले दुःखेसो समेत गरेका छन् ।

    ‘हाम्रो पार्टीमा उत्तर र दक्षिणतिर २ वटा हेडक्वार्टर थिए । उत्तरतिरको हेर्डक्वार्टरबाट निर्देशितहरू मकहाँ आउँछन् । हामीतिर आउनुपर्‍यो भन्छन् । दक्षिणतिरबाट पनि आउँछन् । माले हुँदा मसँग भएका साथीहरु आउँछन्, त्यस्तै कुरा गर्छन् । तर म कतै नलागी जुटाउनेतिर लागेको छु,’ उनले बुधवार ललितपुरमा आयोजित अभियान घोषणा कार्यक्रममा भने, ‘मेरो भित्री मनको कुरा प्रतिनिधिसभा पुनःस्थापना भइदिए हुन्थ्यो भन्ने छ । प्रतिनिधिसभा पुनःस्थापना भयो भने हामीलाई २ वर्ष समय प्राप्त हुन्छ । त्यो २ वर्षमा दुबै समूहलाई म ल्याउँछु । केपी ओली कहिल्यै एकताको पक्षमा हुनुहुन्नथ्यो । म हुँदा प्रचण्डजी एकताको पक्षमा हो । अहिले उहाँहरू दुईतिर फर्कनुभएको छ । म जान्छु र केपी ओलीलाई प्रचण्डतिर फर्काइदिन्छु, प्रचण्डलाई केपी ओलीतिर फर्काइदिन्छु । त्यो तागत मसँग छ ।’

    नेता गौतमले पार्टी विभाजनमा ओली र दाहाल दुबैको बराबरी दोष रहेको बताए । दुबै नेतालाई तराजुमा जोखेर हेर्दा घटीबढी नरहेको निष्कर्ष उनले सुनाएका छन् ।

    ‘परिपक्व तरिकाबाट एकता राष्ट्रिय अभियानमा जुटेको छु । म थाक्दिनँ । ७३ वर्षसम्म थाकिनँ । अब कति बाँच्ने ठेगान छैन । जति दिन २ खुट्टाले थामिन्छ, त्यही दिनसम्म थाक्दिनँ,’ गौतमले भने, ‘६ महिनापछि हेर्नुहोला, काठमाडौंमा बस्न नसक्ने गरी मान्छे एकता अभियानमा जुटाउँछौं । त्यसबेला उहाँहरू (ओली र दाहाल) सेनापति हुनुहुन्छ । तर सैनिकहरु सकिसकेको हुन्छ उहाँहरुको ।’

    गौतमले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको फैसला आउनुअघि र आएपछि पनि विभिन्न विकल्पमा रहेर पुनः एकता गराउन सकिने अवधारणा अघि सारेका छन् । उनले प्रतिनिधिसभा पुनःस्थापना वा निर्वाचन भए दुबै अवस्थामा भिन्नभिन्न केन्द्रअन्तर्गत पार्टी सञ्चालन र कार्यगत एकताका आधारमा निर्वाचनमा सामेल हुन सकिने जनाएका छन् ।

    सरकार सञ्चालन गर्ने अवसर प्राप्त भए संयुक्त सरकार सञ्चालन गर्ने प्रक्रिया अवलम्बन गरिने अवधारणा पनि गौतमले ल्याएका छन् । २ पक्ष १ नभई विभाजन भए दुबै पार्टीसँग मित्रवत् सम्बन्ध राखेर अगाडि जानुपर्ने गौतमको अवधारणा छ ।

    गौतमले आफू नेतृत्वको अभियानमा पार्टी केन्द्रीय समितिका एक मात्र सदस्य हरि पराजुलीको साथ लिएका छन् । पूर्व भीसी हीराबहादुर महर्जन, विनोद खड्का, माया ज्ञवाली, कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन, उपमेयर सरस्वती रिजाल खड्का, पत्नी तुलसा थापा, प्रा.डा. प्रकाशमान श्रेष्ठ, भोजराज भट्टराई, डीबी कार्की लगायत अभियानमा जोडिएका छन् ।

    गौतमले अभियानका लागि १७५ जनासम्मको कार्यसम्पादन समिति बनाउने भएका छन् । केन्द्रमा केन्द्रीय समन्वय समिति गठन गर्ने र त्यो ६५१ सदस्यीय बनाउने तयारी छ । त्यसको अवधारणापत्र पनि बुधवार घोषणा सभाबाटै पारित गरिएको छ ।

    दैनिक कार्यसञ्चालन गर्न आवश्यक सचिवालय निर्माण गर्ने, प्रदेशमा प्रदेश समन्वय समिति गठन गर्ने, त्यसमा प्रदेश अन्तर्गत रहेका केन्द्रीय सदस्यहरु र जिल्ला समितिका संयोजकहरु पदेन सदस्यका रुपमा राख्ने, प्रदेशमा पनि एक सचिवालय गठन गर्ने अवधारणा तय भएको छ । 

    जिल्लामा पालिकाको प्रतिनिधित्व हुने गरी ७५ सदस्यीय जिल्ला समन्यव समिति निर्माण गर्ने, वडाहरुमा अधिकतम ५१ सदस्यीय पालिका समन्वय समिति निर्माण गर्ने तयारी अभियानको रहेको छ । ‘सबै तहका समितिहरुमा संयोजक, सहसंयोजक, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्य रहने तथा केन्द्रीय समन्वय समितिमा संगठन, प्रशिक्षण र प्रचारप्रसारका कार्य गर्न थप ३ सहसचिवहरुको व्यवस्था गर्न सकिने गरी संगठनात्मक संरचना तयार पारिने छ,’ उनले भने ।

    अभियानले आफ्नो आचारसंहिता पनि बनाएको छ । नेकपाका दुबै समूहका नेता तथा कार्यकर्ता र समर्थक शुभचिन्तकलाई विनम्र हुन, आरोप–प्रत्यारोपमा सामेल नहुन, गालीगलौज नगर्न, सकिन्छ भने आत्मालोचक बन्न अनुरोध गर्दै अभियानमा लाग्नेले पनि कसैको विरोध नगरी सबैसँग विनम्रतापूर्वक मर्यादित व्यवहार गर्ने गरी ६ बुँदे आचारसंहिता बनाइएको गौतमले बताएका छन् ।

    आचारसंहितामा निर्वाचनभन्दा पहिले र पछिको अवधिमा आयोजना गरिने बैठक, कोणसभा, जनसभा, आमसभाहरुमा जनतासमक्ष आत्मालोचक बनी प्रस्तुत हुने उल्लेख गरिएको छ । अन्तरपार्टी संघर्षका समयमा प्रस्तुत भएका दुबै पक्षका विषयलाई मर्यादित भाषामा समीक्षात्मक शैलीमा राख्ने, विभिन्न कारणले फुटे पनि नेपाल राष्ट्र र जनताको सार्वभौमिक अधिकारको रक्षा तथा समृद्ध समाजवाद निर्माणका लागि आवश्यक पर्दा काँधमा काँध मिलाएर अगाडि बढ्ने प्रतिज्ञा व्यक्त गर्ने गरी आचारसंहिता बनेको छ ।

    अन्य प्रतिस्पर्धी पार्टीहरुको पनि निर्वाचन अवधिभर स्वस्थ आलोचना मात्र गर्ने, व्यक्तिमाथि टिप्पणी वा आलोचना गर्ने नाममा तिनका निजी मामिला, जातीय, भाषिक, वर्गीय, लिंगीय र समुदायको संवेदनशीलतामा आँच आउने बोली व्यवहार बन्द गर्ने जनाइएको छ । 

    कार्यक्रममा गौतमले के भने ?

    – निर्वाचनबाट बहुमत प्राप्त गरेर झण्डै दुईतिहाइका साथ सरकार बनाएको नेकपा विभाजित भएको छ । अहिले २ वटा समूह निर्माण भएका छन् । एउटा केपी ओलीको नेतृत्वमा, अर्काे प्रचण्डको । एकताका लागि १३ वर्षको मेहनत थियो तर विभाजन हुन ३ वर्ष पनि लागेन ।

    –  बैशाख १७ र २७ गते चुनाव हुने हो भने हामीले बहुमत प्राप्त गर्छौं भन्ने प्रधानमन्त्री ओली समूह र २ वर्षपछि निर्वाचन भयो भने हामीले बहुमत हासिल गर्छाैं भन्ने प्रचण्डको समूह । मैले थोरै हिसाबकिताब गरेको छु । गत निर्वाचनमा एउटा ठूलो लहर आएको थियो नेकपाको पक्षमा । जनतामा लहर आएको थियो तर हामी पार्टी एकता नगरी चुनावमा गएका थियौं । २ वटा पार्टी मिलेर गएको चुनावमा हामीले प्राप्त गरेको जम्मा ४३ लाख मत हो । नेपाली कांग्रेसले प्राप्त गरेको मत ३० लाख । हालसम्म ५–७ लाख मतदाता बढे होलान् । तर बढ्ने जो अनुपात हुन्छ त्यो सरदर बराबरी हुन्छ । यस्तो अवस्थामा हामीले प्राप्त गरेको भोट बाँडिने हो भने कति हुन्छ ? साढे २१ लाख हुन्छ । २२ लाख मात्रै कसैले प्राप्त गर्‍यो भने पनि हामीलाई पछि पार्दिन्छ । त्यस्तो अवस्थामा हामी पराजित हुनुको अर्काे विकल्पै छैन । २–४ ठाउँमा जित्न सकिएला । साढे ३ वर्ष पहिले भएको निर्वाचनमा हामीले प्राप्त गरेको मत विभाजित हुने पक्का छ । २ पार्टी फुटेर पराजित भएपछि त्यसको बीचबाट उठेको अर्काे पार्टी सरकारमा पुग्ने पक्का छ । तर हाम्रा नेताहरु फुटेर पनि एक्लै बहुमत ल्याउँछौं भन्नुभएको छ, त्यो सिद्धान्तले गलत सावित गर्छ ।

    – फुटेर पनि बहुमत प्राप्त गर्छु भनेर मैले पनि ४ वर्ष भाषण गर्दै हिँडेको थिएँ । फुटेर प्राप्त गर्ने शक्ति त्यसबेला तपाईंले देख्नुभयो । मैले नेतृत्व गरेको तत्कालीन नेकपा मालेले देशभर १ सिट पनि जित्न सकेन । फुटेर पनि धेरै सिट प्राप्त हुन्छ भनेर ‘आइस्टाइन’को सिद्धान्त भन्दै हिँडेको थिएँ तर त्यस्तो त भएन । मेरो जीवनमा २ वटा मात्रै उद्देश्य छन् । गणतन्त्र प्राप्ति र कम्युनिस्ट पार्टी एकता । अहिले ७३ वर्षको भएँ, ७ वर्षको उमेरदेखि कम्युनिस्ट पार्टीमा लागेको । अहिले फेरि विभाजित छ कम्युनिस्ट पार्टी । त्यसलाई एकताबद्ध बनाउने र समाजवादको बाटोमा लगाउने मात्रै उद्देश्य छ ।

    – सर्वाेच्चमा परेको मुद्दा फैसला हुँदाबित्तिकै ओलीको समूहबाट पनि धेरै साथीहरू आउनुहुनेछ मिसिन । प्रचण्डको नेतृत्वमा भएका साथीहरू पनि यो अभियानमा मिसिन आउनुहुनेछ । धेरै साथीहरुले भन्नुभएको छ – सर्वाेच्च अदालतको निर्णय पर्खिदिनुस् । मलाई विश्वास छ – प्रचण्डको नेतृत्वमा भएकामध्ये केहीलाई छाडेर ठूलो पंक्ति एकताको पक्षमा छ । केपी ओलीको नेतृत्वमा भएको समूहमा पनि उहाँबाहेक सम्भवतः सबै एकताको पक्षमा हुनुहुन्छ । त्यस्तो अवस्थामा यो पार्टी विभाजन भएको छ । आज जसले फुटाउन मद्दत गरिरहनुभएको छ, भोलि जुटाउन नयाँ व्यक्ति नेतृत्वमा आउनेछन् । मैले त्यो विश्वास बोकेर अघि बढेको छु ।

    – एकथरीले के प्रचार गरिरहेका छन् भने यो निश्चय पनि केपी ओलीतिर जान्छ । किनभने राम्रो कुरा गरेर फसाउन सक्ने केपी ओलीबाहेक कोही छैन र बामदेवलाई फसाउन सजिलै छ । जनताको बहुदलीय जनवाद साइनबोर्ड ल्याएर राख्नुभएको छ उहाँले । जनताको बहुदलीय जनवाद भनेपछि वामदेवले हुरुक्कै गर्छ । त्यो त्यतातिरै जान्छ भनेर उहाँहरुले प्रचार गरिरहनुभएको छ । कतिपयले के भनेका छन् भने बामदेवले बाहिर भनेको हो, भित्रभित्र त पार्टी अध्यक्ष जसले दिन्छ त्यतै लाग्छु भनेको छ । मलाई एक पटक ओलीले तपाईं पार्टीमा आउनुस् भन्नुभयो । मैले भने, ‘यदि तपाईंले अध्यक्ष पद छाड्नुहुन्छ र तपाईं वरिष्ठ नेता भएर प्रधानमन्त्री बन्नुस् र म अध्यक्ष भएर पार्टी सञ्चालन गर्छु । सँगै पार्टी एकताका लागि कार्यदल बनाउने र त्यो कार्यदलको प्रमुख पनि म हुनुपर्छ, त्यसमा तपाईंले कुनै बाधा अड्चन गर्न पाउनुहुन्न । त्यसो हो भने म आउँछु भनेर भनें ।’ यही विषयलाई चर्चामा ल्याइयो बामदेव जतातिर अध्यक्ष दिन्छन्, त्यतैतिर जान्छ ।

    – पोहोर मंसिर ४ गते एउटा घटना भयो हाम्रोमा । हामीले धेरै लडाइँ गरेर प्रचण्डको अध्यक्ष अगाडि कार्यकारी थपिदियौं । हामी त्यो लडाइँमा विजयी भयौं । अन्तरपार्टी संघर्षमा हामीले प्राप्त गरेको एउटा सफलता थियो । त्यस बेला प्रचण्ड बहुत खुशी हुनुभयो । अनि प्रचण्डले भनिदिनुभयो – २ पटक प्रधानमन्त्री भइसकेको छु, मलाई फेरि प्रधानमन्त्री चाहिएको छैन । मैले कार्यकारी भएर काम गर्न पाएपछि एकताको बेलामा गरेको आलोपालोको सहमति, त्यो मैले परित्याग गरें ।’ केपीजीले तुरुन्तै महासचिवलाई यो पनि निर्णय गरिहाल्नुस्, लेखिहाल्नुस् भनेर भन्नुभयो । आजको विभाजनको सुरूआत त्यही बेलादेखि भयो । प्रचण्डले पार्टीको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको आलोपालो नै हो, जुन दिन प्रचण्डले त्यो आलोपालो छाड्नुभयो हामी सबै खुट्टा कमाएर त्यही बसिराख्यौं । लडाइँ हामीले लडेका थियौं, कार्यकारी हामीले ल्याएका थियौं, उहाँले छाडिदिनुभयो । त्यसपछि हामीले यो विभाजनलाई रोक्न सकेनौं । मैले पनि प्रचण्डलाई आलोपालो छाड्नबाट रोक्नु पर्दथ्यो तर रोक्न सकिनँ । क्रियाकलाप पनि हामीलाई जुटाउनेभन्दा पनि फुटाउनेतिर गए र आखिरमा पुस ५ गते एउटाले अविश्वासको प्रस्ताव राखेर प्रधानमन्त्रीलाई हटाउने र विकल्पमा अर्काे प्रधानमन्त्री हुने, अर्काेले तिमीले बहुमत पुर्‍याएर सबथोक गर्दैछौं मलाई थाहा छ । अब त्यो सबै गर्न नपाउने गरी प्रतिनिधिसभा भंग गरिदिन्छु भनेर अनेक पटक सांकेतिक भाषामा उहाँले भनिरहनु भएको थियो । पुस ५ गते उहाँले प्रतिनिधिसभा भंग गरिदिनुभयो । तराजुमा जोखेर हेर्दा कसको गल्ती बढी, कसको कम भनेर हिसाब गर्दा ओली र प्रचण्ड दुवैको बराबर दोष देख्छु पार्टी विभाजनको सवालमा ।

    – प्रतिनिधिसभा भंग नगरी राष्ट्रपतिकोमा जानुहुन्थ्यो भने के हुन्थ्यो केपी ओलीको सान ? केपी ओलीको प्रतिष्ठा कति उठ्ने थियो ? यस्तो अवस्थामा मैले राजीनामा गरेर यो पार्टीलाई जोगाउनुपर्छ भनेर सोच्नु पर्दैनथ्यो उहाँले ? जब पार्टीमै अल्पमतमा परेको छ भने उहाँले राजीनामा दिएको भए कति सान हुन्थ्यो ?

    – बामदेवले अर्काे पार्टी बनाउँदैछ भन्ने सन्देश पनि गएको छ । संगठित सदस्यहरूलाई संगठित बनाइराख्न संगठनको आवश्यकता पर्छ । हामी कम्युनिस्ट हौं । हामी संगठित भएर मात्रै हाम्रो सदस्यता रहन्छ । संगठनमा आवद्ध भएनौं भने कम्युनिस्ट भइँदैन । म थाक्दिनँ । ६८ वर्षसम्म थाकिनँ । अब कति बाच्ने ठेगान छैन । जति दिन २ खुट्टाले थामिन्छ, त्यही दिनसम्म थाक्दिनँ । पार्टी निर्माण र समाजवादतिरको बाटोका लागि लडिरहन्छु । अहिले हामी पार्टी बनाइरहेका छैनौं । ६ महिना हेर्नुहोला काठमाडौंमा बस्न नसक्ने गरी मान्छे एकता अभियानमा जुटाउँछौं । हामी परिपक्व किसिमले जाने हो । त्यसबेला उहाँहरु सेनापति हुनुहुन्छ । तर सैनिकहरू सकिसकेको हुन्छ, उहाँहरुको ।

    – केही कमरेडहरु पार्टी फुटाएर हाँसिरहनुभएको छ । गालीगलौज गरिरहनुभएको छ । न त्यो देख्न सकिन्छ, न सुन्न नै सकिन्छ । चिया पनि सँगै बसेर खाने, नमस्कार गर्न नसक्ने अवस्था सिर्जना गरिरहेका छन् । यो संस्कृतिलाई कदापि मान्न सकिन्न ।

    – मेरो भित्री मनको कुरा प्रतिनिधिसभा पुनःस्थापना भइदिए हुन्थ्यो भन्ने छ । प्रतिनिधिसभा पुनःस्थापना भयो भने हामीलाई २ वर्ष समय प्राप्त हुन्छ । यो २ वर्षमा दुबै समूहलाई म ल्याउँछु । केपी ओली कहिल्यै पनि एकताको पक्षमा हुनुहुन्नथ्यो । म हुँदा प्रचण्डजी एकताको पक्षमा हो । अहिले उहाँहरु दुईतिर फर्कनुभएको छ । म जान्छु र केपी ओलीलाई प्रचण्डतिर फर्काइदिन्छु, प्रचण्डलाई केपी ओलीतिर फर्काइदिन्छु । त्यो तागत मसँग छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend