काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्न नसक्नेहरू आफ्नै आमालाई सम्मान गर्न नसक्नेहरू रहेका बताएका छन् ।
आफूपक्षीय नेकपा निकट आदिवासी जनजाति महासंघ नेपालको राष्ट्रिय भेलालाई बुधवार काठमाडौंमा सम्बोधन गर्दै ओलीले राष्ट्रपतिको सम्मान नगर्नेहरूलाई असभ्य बताएका छन् ।
‘राष्ट्रपतिको पदमा एक जना महिला (विद्यादेवी भण्डारी) हुनुहुन्छ, उहाँलाई सम्मान गर्न नसक्नेहरू आफ्नै आमालाई सम्मान गर्न नसक्नेहरू हुन् । के भएको मानसिकता हो ? कति असभ्यता हो ?’ ओलीले भने ।
ओलीले पार्टीको मूलधारमा फर्कन नेकपाको अर्काे पक्ष प्रचण्डलाई आग्रह गरेका छन् । उनले बेहाल भएर बस्नुभन्दा पार्टीको मूलधारमा फर्कन प्रचण्ड–नेपाल पक्षलाई आग्रह गरे ।
ओलीले तोकिएको समयमा निर्वाचन गराएर मुलुकलाई स्थिरतातर्फ अगाडि बढाउन सरकार र पार्टी सक्रिय रहेकाले केही पनि नेता कार्यकर्ताले बाटो बिराउनु नपर्ने बताए । उनले पार्टीको हालको विवाद नक्कली भएको बताउँदै आधिकारिक पार्टीको नेतृत्व आफूले गरिरहेको बताएका छन् ।
आगामी बैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचनले अहिले सडकमा विरोध गरिरहेकाहरूलाई बरफ पग्लिएझैं पखाल्ने ओलीले बताएका छन् । ओलीले दसा लागेका केही व्यक्ति पार्टी छाडेर गए पनि कम्युनिस्ट आन्दोलन, स्थिरता र समृद्धिको यात्रामा कुनै गत्यावरोध नआउने बताए ।
नेकपामा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ताजा जनादेशका लागि निर्वाचन तोकिएकाले निर्वाचनबाट आफ्नो पार्टीले दुईतिहाइ बहुमत ल्याई स्थिरता दिने बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।