काठमाडौं – विद्यालय व्यवस्थापन समितिको चुनाव हारेको झोकमा नेपाली कांग्रेसका कार्यकर्ताको हत्या भएपछि चर्चित युवा नेता गगन थापा मैदानमा उत्रिएका छन् ।
बझाङ जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–३ का २३ वर्षीय अमृत सिंहको कम्युनिस्ट कार्यकर्ताले हत्या गरेका हुन् ।
नेता थापाले वडाध्यक्षको सरकारी मोटरसाइकल चढेर आएका व्यक्तिबाट अमृत सिंहको हत्या हुनु दण्डहिनताको पराकाष्ठा रहेको जनाएका छन् । उनले सरकारद्वारा संरक्षित हत्यारालाई कानूनी कठघरामा ल्याउन हदैसम्म लाग्ने घोषणा समेत गरेका छन् ।
‘वडा अध्यक्षको सरकारी मोटरसाइकल चढी आएका मानिसबाट अमृत सिंहको हत्या हुनु दण्डहीनताको पराकाष्ठा हो,’ नेता थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकारद्वारा संरक्षित हत्यारालाई कानुनी कठघरामा ल्याउन हामी हदैसम्म लाग्नेछौं । मृतक अमृत सिंहप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।’
विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा बझाङमा कम्युनिस्टहरूको प्यानल हारेको झोकमा नेपाली कांग्रेस कार्यकर्तामाथि खुडा प्रहार गरी हत्या भएको हो । सिंहको घाँटीमा खुडा प्रहार गरी हत्या गरिएको प्रहरीले जानकारी दिएको छ ।
मंगलवार स्थानीय बान्नीचौर माविको विद्यालय व्यवस्थापन समितिको चुनावमा कांग्रेस प्यानलले जितेको घोषणा भएको केहीबेरपछि अमृत सिंहको हत्या भएको जनाइएको छ ।
चुनावमा नेपाली कांग्रेसबाट लोकेन्द्र बहादुर रोकायाको प्यानल र नेकपाबाट गजेन्द्र बहादुर धामीको प्यानलबीच प्रतिस्पर्धा भएको थियो । शिक्षक अभिभावक संघका लागि कांग्रेसका सुरेश रोकाया र नेकपाका कल्याण बोहराबीच प्रतिस्पर्धा भयो ।
चुनावपछि विद्यालय व्यवस्थापन समितिमा कांग्रेसका लोकेन्द्र बहादुर रोकायाको प्यानल र शिक्षक अभिभावक संघमा पनि कांग्रेसका सुरेश रोकायाले जितेपछि कम्युनिस्टहरू आत्तिए । ‘कांग्रेसको प्यानल जितेको भन्दै चुनाव सकिएपछि खुडा प्रहार गरी हत्या गरिएको हो,’ मृतकका आफन्त सचिन सिंहले भने ।
मृतक अमृत सिंहको घाँटीमा खुडा हानिएको र उनको घाँटी २ इन्च मात्रै बाँकी रहेको प्रहरीले जानकारी दिएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले छबिसपाथिभेरा गाउँपालिकाका–२ का वडाध्यक्ष विकास अयडी, उनका भाइ प्रकाश अयडी, सोही ठाउँका केदार कठायत र ज्ञानबहादुर कठायतलाई पक्राउ गरेको छ ।
प्रहरीले मोटरसाइकलसहित वडाध्यक्ष अयडीलाई सदरमुकाम चैनपुरको होटलबाट मंगलवार राति पक्राउ गरेको छ भने ज्ञानबहादुर कठायतलाई मंगलवार नै घटनास्थलबाट स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।
हत्या अभियोग लागेका अर्का अभियुक्त प्रकाश अयडी र केदार कठायतलाई बुधवार थलारा गाउँपालिका–३ जाम्बाँझबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) रुपक खड्काले बताएका छन् ।
मृतकका आफन्तले अर्को वडाबाट आएका व्यक्तिहरूले हत्या गरेको आरोप लगाएका छन् । ‘विद्यालय जस्तो पवित्र संस्थाको चुनावमा अर्को वडाबाट आएर प्रचारप्रसार र गुण्डागर्दी गरिएको थियो, मतगणनाका बेला पनि वडाध्यक्ष विकास अयडीले विवाद गरेका थिए,’ मृतकका आफन्त सचिन सिंहले भने ।
घटनास्थलबाट वडाध्यक्ष विकास अयडीको से१प ७६१ नम्बरको सरकारी नम्बर प्लेटको गाडी बरामद भएकाले प्रहरीले उनलाई पनि पक्राउ गरेको छ । प्रहरीले हत्यामा वडाध्यक्षका भाइ प्रकाश अयडी, सोही ठाउँका केदार कठायत र ज्ञानबहादुर कठायतको संलग्नता खुलेको जानकारी दिएको छ ।
मृतक अमृत सिंह नेपाल तरुण दल छबिसपाथीभेरा गाउँपालिकाका सदस्य हुन् । उनको शव जिल्ला अस्पताल बझाङमा राखिएको छ । बुधवार नेपाल तरुण दल, नेपाल विद्यार्थी संघसहित कांग्रेसका भातृ संगठनले चैनपुर बजारमा प्रदर्शन गरेका छन् ।
कांग्रेसका भातृ संगठनले सदरमुकाममा टायर बाल्दै नाराबाजी गरेका छन् भने चैनपुरको यातायात र बजार समेत बन्द गराएका छन् । पीडित परिवारले हत्याका आरोपीलाई कडा कारवाहीको माग गर्दै प्रर्दशन गरेको छ ।
नेपाली कांग्रेसका पूर्व सभापति पृथ्वीबहादुर सिंहले राजनीतिक आवरणमा भएको हत्यामा संलग्नलाई उम्काउन प्रयास हुने आशंका व्यक्त गरेका छन् । ‘सत्ता र शक्ति प्रयोग गरेर अपराधीलाई उम्काउने प्रयास हुनसक्छ, अपराधीलाई कडा कारवाही हुनुपर्छ,’ सिंहले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।