काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली एकपछि अर्काे आपतमा फस्दै गएका छन् ।
संसद विघटन गरेर सर्वाेच्च अदालतमा मुद्दा झेलिरहेका प्रधानमन्त्री ओलीविरुद्ध सर्वाेच्च अदालतमा अर्काे मुद्दा दर्ता भएको छ । ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको हो ।
मंगलवार सर्वोच्च अदालत प्रशासनमा ओलीविरुद्ध अदालतको अवहेलनाका २ वटा मुद्दा दर्ता भएका हुन् । वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले सर्वाेच्चमा छुट्टाछुट्टै अवहेलना मुद्दा दर्ता गराएका छन् ।
आचार्यको मुद्दा दर्ता नम्बर ५२२१ र न्यौपानेको ५२२६ रहेको जनाइएको छ ।
प्रधानमन्त्री ओलीले माघ ९ गते काठमाडौंको कार्की ब्यांकेटमा भएको कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा बहस गरेको विषयमा निन्दायुक्त टिप्पणी गरेको आरोप मुद्दामा लगाइएको छ ।
त्यतिबेला प्रधानमन्त्रीले ‘एक जना बाजे वकिललाई सर्वोच्च लगेर तमासा देखाएछन्’ भन्ने टिप्पणी गरेका थिए । ओलीको टिप्पणीको सर्वत्र आलोचना भइरहेको छ ।
वरिष्ठ अधिवक्ता आचार्यले प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतमा भइरहेको बहसलाई ‘तमासा’ र बहस गर्ने कानून व्यवसायीलाई ‘बाजे’ भन्ने निन्दायुक्त शब्द प्रयोग गरेर प्रधानमन्त्री ओलीले अदालतको अवहेलना गरेको आरोप लगाएका छन् ।
प्रधानमन्त्री ओलीमाथि न्याय परिषद् ऐन २०७३ को दफा १७ अनुसार हदैसम्मको सजाय हुनुपर्ने माग गरिएको छ ।
आचार्य गत आइतवार र न्यौपाने सोमवार मुद्दा बोकेर सर्वोच्च अदालत पुगेका थिए । तर सर्वोच्च प्रशासनले अध्ययन गर्ने भन्दै मुद्दा दर्ता गरेको थिएन । मंगलबार ओलीविरुद्धका दुवै मुद्दा दर्ता भएका छन् । संसद विघटनको मुद्दा अदालतमा विचाराधीन नै रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।