काठमाडौं – अदालत र अख्तियार स्वतन्त्र संवैधानिक निकाय हुन्, यी निकायमा सरकारको कुनै प्रभाव र हस्तक्षेप हुन नहुने मान्यता छ ।
तर संसद विघटनसँगै नेकपा विभाजित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपाले संवैधानिक निकायमा सेटिङ गरेको चर्चा चल्ने गरेको छ । प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक भाषणमै सेटिङको प्रसंग निकाल्ने गरेका छन् ।
ओली सरकारले अदालत र अख्तियारमा सेटिङ गरेको संकेत ओली सरकारका मन्त्री प्रदीप ज्ञवालीले नै गरेका छन् । गुल्मीको रेसुंगा नगरपालिकाको तम्घासमा शनिवार आयोजित ओली समूहका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले सरकारले अदालत र अख्तियारमा धुलो परेका फाइल निकाल्न थालेको बताए । थन्किएका पुराना फाइलहरू निकालेर पार्टीमा उथलपुथल ल्याउने सेटिङ सरकारले अदालत र अख्तियारसँग गरेको संकेत मन्त्री ज्ञवालीले गरे ।
संवैधानिक निकायले सरकारको इशारामा भन्दा नियमित प्रक्रिया अनुसार कुन फाइल निकाल्ने र कुन फाइल तामेलीमा राख्नेबारे निर्णय लिनुपर्ने हुन्छ । तर मन्त्री ज्ञवालीले अदालत र अख्तियारका फाइल सरकारले निकालेको खुलासा गरेका छन् ।
भ्रष्टाचारीको कुनै पार्टी, जात र रङ नहुने भएकाले कसैलाई पनि नछाडिने मन्त्री ज्ञवालीले बताएका छन् । ‘वर्षौंसम्म थन्क्याएर राखेका धुलो परेका फाइललाई निकालेर हेरिन्छ, भ्रष्टाचारी त्रसित भएका छन्,’ उनले भने । ज्ञवालीले सुशासन कायम गर्न सरकार दृढ रूपले लागेको बताएका छन् ।
सरकारले तोकिएकै समयमा निर्वाचन गराउन गृहकार्य गरिरहेकाले अब गाउँ–गाउँमा जनतालाई आफ्नो पक्षमा पारेर चुनावी अभियान सञ्चालन गर्न ज्ञवालीले कार्यकर्तालाई निर्देशन दिएका छन् । ‘अबको विकल्प सडक होइन, निर्वाचन हो,’ ज्ञवालीले भने, ‘हामी जनताको फैसला स्वीकार्न तयार छौं, हारेर जंगल पस्दैनौं, जनताको सेवामा अविचलित भई निरन्तर खट्छौं ।’
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष जस्तो गरिमामय पदलाई दुरुपयोग गरेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धोका दिएको ज्ञवालीले बताए । प्रचण्ड कार्यकारी अध्यक्ष भएपछि पार्टी काममा लाग्न छाडेर गुट बनाउँदै पार्टी एकताको म्यान्डेट विपरीत गतिविधि गरेर पार्टी विभाजन गरेको आरोप उनले लगाएका छन् ।
मन्त्री ज्ञवालीले पार्टीमा पदको बार्गेनिङ गरेर प्रचण्डले प्रधानमन्त्री र माधव नेपालले पार्टी अध्यक्ष पद नपाएपछि छँदाछँदाको आफ्नो पार्टीको दुईतिहाइको सरकारलाई बदनाम गराउन सडक गएर रोइकराई गरेको दावी गरेका छन् ।
‘पार्टीभित्र आफ्नो शक्ति आर्जन गर्ने र कुर्सीकै लागि प्रचण्डले राजनीति गरे,’ मन्त्री ज्ञवालीले भने, ‘स्थिर सरकारको लागि जनता समक्ष मागेको मतलाई कदर गर्ने काम पटक्कै भएन । कुर्सीका लागि पार्टीमा बबाल मच्याउने काम प्रचण्ड र नेपालले गरेका छन् ।’
पार्टी कब्जा गरेर देशलाई अस्थिरतातर्फ धकेल्न खोजेपछि संविधान र लोकतन्त्रको रक्षार्थ प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर जनतामा जाने बाध्यकारी निर्णय गरेको उनले बताएका छन् । ओलीले प्रधानमन्त्री हुन अर्को निर्वाचन र पार्टी अध्यक्ष हुन छिट्टै महाधिवेशन गरेर वैधानिक ढंगले सत्ता हस्तान्तरण गर्छु भनेर प्रचण्ड र नेपाललाई बारम्बार सम्झाउँदा पनि नमानेको उनले बताएका छन् । ‘दाहाल र नेपाललाई पद नगद चाहियो, केही समय पर्खन सकेनन्,’ ज्ञवालीले भने ।
चुनावमा ५ वर्ष स्थिर सरकार भनेर भोट मागेका प्रचण्ड–नेपालले जनताको मत र कार्यकर्तालाई धोका दिएर निराश बनाएर सडकमा बेमौसमी बाजा बजाएको उनले बताए । प्रचण्डको फाटेको मन टाल्दा टाल्दा हैरान भएको ज्ञवालीले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।