काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी शर्मा ओली पक्षका केन्द्रीय सदस्य तथा ललितपुर क्षेत्र नम्बर १ का सांसद नवराज सिलवालको क्षेत्रमा नेकपाभित्र विद्रोह मच्चिएको छ ।
सिलवालका कार्यकर्ता ओली नेतृत्वको सरकारप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसमा प्रवेश गर्न थालेका छन् ।
कांग्रेस प्रवेश गर्नेमा अखिल नेपाली विद्यार्थी युनियनका जिल्ला सदस्य राम खड्का र युवा संघ ललितपुर जिल्ला सदस्य सन्तोष खड्का ‘सम्राट’ रहेका छन् ।
नेकपा छाडेर कांग्रेसमा प्रवेश गरेका नवप्रवेशीलाई नेपाली कांग्रेसका युवा नेता, केन्द्रीय खेलकुद विभाग सचिव मीनकृष्ण महर्जनले टीका र खादा लगाएर स्वागत गरेका छन् । नेकपा फुटेका बेला आफ्नो पक्षका कार्यकर्ता जोगाउन नसकेपछि प्रधानमन्त्री ओलीसम्मलाई झड्का लागेको छ ।
नवप्रवेशी राम खड्काले मन्तव्य दिँदै भने, ‘२० वर्ष एमालेमा सक्रिय भएर लागियो, बागमती गाउँपालिकामा संगठन विस्तारमा लागियो तर त्यहाँ कुनै विकास गरेको देखिएन । नेताहरू आर्थिक रूपमा सम्पन्न भए तर गाउँसमाज उस्तै रह्यो ।’
कम्युनिस्ट नेताहरू जवाफदेही र जिम्मेवार नहुने, भ्रष्टाचारमा चुर्लुम्म डुबेका कारण नेकपामा राजनीतिक भविष्य नदेखेर कांग्रेसमा प्रवेश गरेको उनले बताए । कांग्रेसका नेता मीनकृष्ण महर्जनको काम गर्ने शैली मन परेको समेत उनले बताए ।
‘मीनकृष्णज्यूले आफ्ना कार्यकर्ता र जनताको सेवामा रातदिन कतिबद्ध भएर लाग्नुहुन्छ,’ उनले भने, ‘उहाँको कार्यशैली मन परेर नेपाली कांग्रेसमा प्रवेश गरेका हौं ।’

युवा नेता महर्जनले आफ्नो निर्वाचन क्षेत्रमा यस्ता होनहार युवाहरू ३ वर्षको अवधिमा ५०० भन्दा बढीलाई कांग्रेसमा प्रवेश गराइसकेका छन् । महर्जन ललितपुर जिल्लामा निकै लोकप्रिय नेताका रूपमा परिचित छन् ।
नवप्रवेशी युवालाई आफ्नो कार्यक्षमता अनुसार पार्टीले जिम्मेवारी दिने र कम्युनिस्ट पार्टीमा जस्तो विचलित हुन नदिने वचन महर्जनले व्यक्त गरेका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।