काठमाडौं – बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेल विरुद्धको अविश्वासको प्रस्तावले प्रदेशसभा बैठकमा प्रवेश पाएसँगै सरकारमा उथलपुथल हुने देखिएको छ ।
प्रदेश सभाको शुक्रवार बसेको बैठकमा अविश्वासको प्रस्तावको समर्थक मध्येका प्रदेश सभाका सदस्य अरुणप्रसाद नेपालले अविश्वासको प्रस्ताव पेश गरेका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश सभाका सदस्यहरूले पुस १० गते प्रदेशसभा सचिवालयमा दर्ता गराएको अविश्वासको प्रस्ताव सभामुख सानुकुमार श्रेष्ठले पेश गर्न समय दिएसँगै प्रदेश सभामा मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावले औपचारिक प्रवेश पाएको हो ।
अविश्वासको प्रस्ताव प्रदेश सभामा पेश गर्दै प्रदेशसभा सदस्य नेपालले प्रदेश सरकार गठन भएको ३ वर्षको अवधिमा प्रदेश सरकारले प्रदेशका जनतालाई प्रदेश सरकार भएको अनुभूति दिलाउने गरी काम गर्न नसकेको बताए ।
प्रदेशमा भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, विकास निर्माणको काम अग्रपंक्तिमा रहेर गर्न नसकेको र दण्डहीनता बढेको बताउँदै उनले भने, ‘मुख्यमन्त्रीले पदको गरिमालाई जोगाउने गरी काम गर्न नसकेकाले अविश्वासको प्रस्ताव दर्ता गरेका हौं ।’
यसअघि मन्त्री रहेका नेपालले प्रधानमन्त्री केपी ओलीले संघीयतामा माथि प्रहार गर्दै गर्दा समेत मुख्यमन्त्रीले नबोलेको बताउँदै प्रदेश सरकारप्रति समृद्धिको अपेक्षा गरेकोमा सरकार त्यसतर्फ उन्मुख नभएको बताए ।
सभामुख श्रेष्ठले मुख्यमन्त्री पौडेलविरुद्ध प्रदेश सभामा पेशको भएको अविश्वासको प्रस्तावमा माघ १९ गतेबाट छलफल गर्ने गरी प्रदेश सभाको बैठक स्थगित भएको जानकारी गराए । प्रदेश सभाको अर्को बैठक माघ १९ गते २ बजे बस्ने भएको छ ।
यसअघि प्रदेश सभामा प्रतिनिधित्व गर्ने सातौं अधिवेशन सुरूको पहिलो दिन बुधवार दलका नेताहरूले शुभकामना दिएपछि प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका थिए ।
बागमती प्रदेशमा दुईतिहाई बहुमत भएको नेकपाकै पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्षले ४५ प्रदेश सभाका सदस्यहरूले मुख्यमन्त्रीविरुद्ध गत पुस १० गते ३ जना मन्त्रीहरूको राजीनामासहित अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । मुख्यमन्त्री पौडेल नेकपाको केपी ओली पक्षधर हुन् ।
अविश्वासको प्रस्ताव पेश गर्दा मुख्यमन्त्रीका लागि प्रस्तावित सदस्यको नाम समेत उल्लेख गर्नुपर्ने व्यवस्था संविधानमा भएअनुसार नेकपाको प्रचण्ड–नेपाल पक्षले अष्टलक्ष्मी शाक्यको नाम प्रस्ताव गरेको छ ।
यसैबीच प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधनसहित) को नियम १४४ को उपनियम ८ मा मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावमाथि प्रदेश सभाको निर्णय दस्तखत सहितको मत विभाजनबाट हुने व्यवस्था रहेको छ ।
बागमती प्रदेश सभामा ११० जना प्रदेशसभा सदस्य रहेकामा बहुमत पुर्याउन ५६ मत आवश्यक हुने भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।