काठमाडौं - नेकपा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले आफूलाई एक महिनाभित्रै सरप्राइज दिन्छु भनेर जेल हाल्न खोजेको आरोप लगाएका छन् । उनले ललिता निवास जग्गा प्रकरणमा ओलीले जेल हाल्ने प्रपञ्च रचेको बताएका छन् ।
बुधबार बिहान होटल याक एन्ड यतिमा सम्पादकहरूसँगको अन्तरक्रियामा नेपालले ओलीले पहिल्यै प्रतिगमन गर्न खोजेको तर आफूहरूले रोकेको पनि बताए । नेपालले ओलीले प्रतिगमनको स्टेप चाल्ने पहिल्यै चेतावनी दिएको भन्दै आफूलाई ललिता निवास र प्रचण्डलाई थुन्न खोजिएको उल्लेख गरे ।
उनले ओली बदलाको भावनाले चल्ने मान्छे रहेको भन्दै उनले कसैले चुनौती दिएको मन नपर्ने बताए । ‘ओलीले मलाई र प्रचण्डलाई जेल हाल्न खोजेका थिए’, नेपालले भने, ‘ओलीले मलाई एक महिनामा म तपाईंहरूलाई सरप्राइज रिपोर्ट दिन्छु भन्नुभएको थियो, त्यो भनेको ललिता निवास जग्गा प्रकरणमा मलाई फसाउन खोजिएको रहेछ ।’ पछि आफूले सोध्दा त्यो कुरा होइन भनेर टारेको नेता नेपालले बताए ।
अन्तरक्रियामा नेपालले भने, ‘केपी ओली र माधव नेपाल उस्तै हुन् भन्दा मलाई पोल्छ ।’ जम्मै नेता उस्तै हुन् भनेर नकारात्मक भ्रम फैलाइएको बताउँदै उनले समाजमा राम्रा मान्छेहरु पनि रहेको बताए । नेपालले तत्कालिन एमालेको तर्फबाट गणतन्त्रका पक्षमा कुरा ल्याउने पहिलो व्यक्ति आफू नै रहेकोसमेत बताए ।
‘तत्कालीन एमालेको तर्फबाट पहिला गणतन्त्रको कुरा ल्याउने मै हुँ । १२ बुँदे सहमतिमा पनि मेरो पहल भयो । त्यसपछि तरंग नै छायो । तर अहिले गणतन्त्र जोगाउने सवालमा हामीले पुनः आन्दोलन गर्नुपर्दा माधव–केपी उस्तै हुन् भन्दा मेरो मन पोल्छ’, अध्यक्ष नेपालले भने, ‘कमजोरी सवैमा हुन्छ तर अन्तर्यको विवेचना हुनुपर्छ ।’
उनले केपी ओली अध्यक्ष भएबाटै एमालेको यात्रा ओरालो लाग्न थालेको पनि स्मरण गरे ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।